काठमाडौं । दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा कम्पनीको आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गर्नुका साथै कम्पनीको पुँजी वृद्धि, निर्माणाधीन आयोजनाको प्रगति, लगानी तथा भावी योजनाका विषयमा छलफल भएको छ।
कम्पनीले लमजुङमा निर्माण गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्ने विषय सभाको महत्वपूर्ण छलफलमध्ये एक बनेको थियो।
सभामा सञ्चालक सञ्जीव न्यौपानेले मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाबारे उठेका प्रश्न तथा भ्रमहरूमाथि धारणा राख्दै आयोजना निर्माण निर्धारित योजनाअनुसार अघि बढाइने र समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कुनै व्यक्ति वा समूहको विरोधका आधारमा आयोजना नरोकिने उल्लेख गर्दै स्वदेशी पुँजी परिचालन गरी नेपालीकै सहभागितामा आयोजना निर्माण गर्नु देशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण रहेको बताए।
“के हामीले नेपाली पुँजी नेपालमै लगानी गर्नु अन्याय गर्यौँरु हामीले लमजुङका बासिन्दालाई समृद्धिको यात्रामा डोर्याउन खोज्नु अन्याय गर्यौँरु” भन्ने प्रश्न गर्दै न्यौपानेले आयोजनाबाट स्थानीयस्तरमा रोजगारी सिर्जना, स्थानीय सरकारलाई राजस्व प्राप्ति तथा स्थानीय स्रोतसाधनको उपयोगमार्फत आर्थिक गतिविधि बढाउन सकिने बताए।
उनका अनुसार आयोजनामा हालसम्म २६ सयभन्दा बढी स्थानीयको लगानी रहेको छ भने निर्माण कार्यको आधाभन्दा बढी काम सम्पन्न भइसकेको छ। उनले आयोजनासम्बन्धी विषयमा तथ्यका आधारमा धारणा बनाउन शेयरधनी तथा स्थानीयवासीलाई आग्रह गर्दै निर्माण कार्यलाई निरन्तरता दिने स्पष्ट पारे।
कार्यकारी सञ्चालक इन्द्रमणि त्रितालले कम्पनी विद्युत् उत्पादन गर्ने उद्देश्यका साथ आयोजना निर्माणमा जुटेको उल्लेख गर्दै विकास निर्माणका क्रममा वातावरणीय तथा सामाजिक प्रभावलाई न्यून गर्ने विषयमा कम्पनी सचेत रहेको बताए। उनले कम्पनीका सबै शेयरधनीको अधिकार समान रहेको स्पष्ट पार्दै जलविद्युत् आयोजना राज्यका सम्बन्धित निकायको निर्देशन तथा नियमनअन्तर्गत सञ्चालन हुने बताए।त्रितालले आयोजनाको निर्माण प्रक्रिया पारदर्शी रहेको उल्लेख गर्दै शेयरधनीका जिज्ञासा तथा गुनासालाई सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। सभामा आयोजनाको प्रगति, लगानीको सुरक्षा तथा निर्माण कार्यलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
सभामा कम्पनीका सञ्चालक मिलन खड्काले शेयरधनी, स्थानीय समुदाय, नियमनकारी निकाय, बैंक तथा वित्तीय संस्था र कर्मचारीको सहयोगले कम्पनीलाई अघि बढ्न ऊर्जा मिलेको बताए ।
खड्काले वार्षिक साधारण सभा कम्पनीको नियमित औपचारिकतामा मात्र सीमित नरही विगतका कामको समीक्षा, भावी योजनामाथि छलफल तथा शेयरधनीका सुझाव प्राप्त गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गरे। उनले शेयरधनीको विश्वास र सहयोगलाई कम्पनीको प्रमुख शक्ति बताउँदै कम्पनीलाई थप व्यवस्थित, पारदर्शी र सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाको सफल निर्माण तथा सञ्चालन कम्पनीको प्रमुख प्राथमिकता हो। यसका लागि स्थानीय समुदाय, जनप्रतिनिधि, प्राविधिक टोली, बैंक तथा वित्तीय संस्था र नियमनकारी निकायसँगको सहकार्यलाई थप प्रभावकारी बनाइनेछ।
खड्काले जलस्रोतको अधिकतम उपयोग गर्दै स्वदेशी लगानीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै जलविद्युत् क्षेत्रको विकासले देशको आर्थिक समृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउने बताए।
सभामा कम्पनीको पुँजी वृद्धि, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने, सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने, बैठक भत्ता तथा अन्य पारिश्रमिक निर्धारण गर्ने, आयोजनाका लागि लिइएका तथा आवश्यक पर्ने कर्जा अनुमोदन गर्ने र सहायक कम्पनीहरूमा गरिएको लगानी अनुमोदन गर्ने लगायतका प्रस्तावहरू छलफल तथा निर्णयका लागि प्रस्तुत गरिएका थिए।
मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना सम्पन्न भएपछि विद्युत् उत्पादनमार्फत राष्ट्रिय ऊर्जा आपूर्तिमा योगदान पुर्याउनुका साथै लमजुङको स्थानीय अर्थतन्त्र, रोजगारी र पूर्वाधार विकासमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा कम्पनीले गरेको छ।
कम्पनीले शेयरधनी तथा स्थानीय समुदायको विश्वास कायम राख्दै निर्माणाधीन आयोजनालाई अघि बढाउने र निर्धारित योजनाअनुसार सम्पन्न गर्न आवश्यक पहल जारी राख्ने जनाएको छ।





Comments are closed.