बाढीपछिको पुनर्निर्माण र नारायणी नदी किनारको दीर्घकालीन व्यवस्थापनबारे छलफल

भरतपुर । हालैको बाढीपहिरोले नारायणी नदी किनार क्षेत्रमा पु¥याएको क्षति, तटीय क्षेत्रको कटान नियन्त्रण तथा दीर्घकालीन पुनर्निर्माण र सौन्दर्यीकरणका विषयमा चितवन उद्योग वाणिज्य संघको सचिवालयमा महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवि सुवेदीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बाढीका कारण नदी किनारको क्षति मूल्याङ्कन, कटान रोक्ने स्थायी संरचना निर्माण र दीर्घकालीन नदी किनार व्यवस्थापनका विषयमा गहन मन्थनसहित भावी रणनीतिबारे चर्चा गरियो । भरतपुर महानगरपालिका वडा नं। १ स्थित नारायणगढ बजारमा रहेको नारायणी नदी किनारको तटीय क्षेत्रलाई सौन्दर्यीकरण गरी मनोरञ्जनात्मक स्थलको रूपमा विकास गर्न गुरुयोजना तर्जुमा प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल भएको थियो ।

बर्खायाममा नारायणी नदीमा आउने बाढीका कारण नारायणगढ बजार तथा नारायणी तटीय क्षेत्रहरू निरन्तर जोखिममा पर्दै आएकाले अबका निर्माण तथा व्यवस्थापनका कामहरू दिगो र दीर्घकालीन हुनुपर्नेमा छलफलका क्रममा वक्ताहरूले विशेष जोड दिएका थिए । बाढीले बगाएका तथा क्षति पु¥याएका संरचनाहरूको तत्काल मर्मत–सम्भार गर्नुका साथै भविष्यमा हुनसक्ने कटान रोक्न प्रभावकारी तटबन्ध र ’रिभरफ्रन्ट’ विकास आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने विषयमा प्राविधिकहरूले जोड दिएका थिए ।

यसै क्रममा सहरी विकास तथा सिँचाइ आयोजनाका प्रतिनिधिहरूले नदी किनार क्षेत्रको भौगर्भिक र जलवैज्ञानिक अध्ययनका आधारमा दीर्घकालीन पुनर्निर्माणका योजनाहरू कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्। नारायणी नदी किनारको तटीय क्षेत्रलाई सौन्दर्यीकरण गरी मनोरञ्जनात्मक क्षेत्र बनाउने गुरुयोजनाका सम्बन्धमा विगतमा सम्बन्धित निकायहरूबाट भएका निर्माण कार्यहरू र हालैको बाढीका कारण पुगेको क्षतिबारे गहन छलफल गर्दै स्थलगत निरिक्षण तथा अनुगमन समेत गरिएको थियो । बाढीले पु¥याएको क्षतिको यथार्थ मूल्याङ्कन गरी आगामी दिनमा बाढीबाट जोगाउन सक्ने दिगो तथा स्थायी संरचनाको खाका तयार गर्ने र गुरुयोजना तर्जुमा गर्दा तटीय संरक्षणलाई उच्च प्राथमिकता दिनुपर्ने विषयमा छलफल भएको थियो ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय कोषाध्यक्ष डा। मनोहर प्रधान, चितवन जिल्ला सभापति मिनि माधव खनाल, उपसभापति निर्मला गिरी, भरतपुर नगर सभापति सीता ज्ञवाली र जिल्ला सचिव तेजेन्द्र प्रसाद पौडेल, सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना प्रमुख डा। नारायणप्रसाद सुवेदी, सहरी विकास तथा भवन निर्माण विभाग ववरमहलका सिडिइ दीपक श्रेष्ठ र इन्जिनियर अप्सना श्रेष्ठ, तथा सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख कृष्ण कुमार महर्जन र इन्जिनियर सिजन श्रेष्ठ, चितवन उद्योग वाणिज्य अध्यक्ष चिरञ्जीवि सुवेदी, निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरू प्रचण्डलाल प्रधान र सहनलाल प्रधान, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली र कार्यकारी निर्देशक निलबहादुर के।सीको सहभागिता रहेको थियो ।

छलफलको अन्त्यमा, बाढीबाट पुगेको क्षतिको पुनर्निर्माणका लागि तीनै तहका सरकार, प्राविधिक निकाय र स्थानीय निजी क्षेत्रबीच बलियो सहकार्य गर्दै नारायणी नदी किनारलाई सुरक्षित, व्यवस्थित र पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गर्ने साझा प्रतिबद्धता भएका थिए ।

You might also like

Comments are closed.

Secret Link