काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित उडान सुरु भएको एक महिना पूरा भएको छ। यस ऐतिहासिक हवाई सम्पर्कलाई सन् २०२७ को अक्टोबरसम्म टिकट बुकिङ खुला गरी उडान निरन्तर हुने सुनिश्चितता गरिदिएकोमा फ्लाईदुबईको व्यवस्थापन टोलीप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन् ।
२३ सेप्टेम्बरदेखि २३ अक्टोबर २०२६ सम्म ३० वटा उडानमार्फत दुबईबाट पोखरा ४हजार ५ सय २१ जना र पोखराबाट दुबई १,हजार ८ सय ४१ जना गरी कुल ६ हजार ३ सय ६२ यात्रुले यात्रा गरेका छन् । पहिलो महिनाको यो उपलब्धि उत्साहजनक रहेको उनले बताए ।
यस अवधिको औसत हेर्दा प्रत्येक उडानमा दुबईबाट पोखरा आउने यात्रु करिब १५० जना र पोखराबाट दुबई जाने यात्रु करिब ६० जना छन् भने प्रति फ्लाईट औसत १०६ जना रहेको छ। यसरी आउने यात्रुको सङ्ख्या राम्रो हुनु सकारात्मक पक्ष हो, उनले भने अब पोखराबाट जाने यात्रुको सङ्ख्या बढाउँदै जाने र आउने तथा जाने यात्रुको सङ्ख्यालाई सकेसम्म सन्तुलित बनाउनेतर्फ हामी सबैले विशेष ध्यान दिन जरुरी छ।
यसका लागि पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी–व्यवसायी तथा निजी क्षेत्रले आ–आफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ। आफ्ना व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमणका कार्यक्रम सम्भव भएसम्म पोखराबाटै सुरु गर्ने र दुबई तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाटै भ्रमण प्याकेज सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध उनले गरेका छन् ।
फ्लाईदुबई तथा यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यसम्म यात्रा गर्न सकिने सुविधा छ। त्यसैले दुबईलाई मात्र गन्तव्य नबनाई त्यहाँबाट जोडिने विश्वका विभिन्न सहरसम्मको यात्राका लागि पनि पोखरालाई प्रस्थान बिन्दु बनाउन देश–विदेशमा रहेका सम्पूर्णमा उनले अनुरोध गरेका छन् ।
पोखरा–दुबई नियमित उडान सुरु हुनु एउटा महत्वपूर्ण उपलब्धि हो। तर, यसलाई निरन्तरता दिनु र यो हवाई मार्गलाई सफल तथा दिगो बनाउनु सबैको साझा जिम्मेवारी रहेको उनले बताए । यात्रुको सङ्ख्या बढाउन सकेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढ्नुका साथै पर्यटन, व्यापार, रोजगारी र समग्र क्षेत्रीय आर्थिक विकासमा समेत सकारात्मक योगदान पुग्नेछ।






Comments are closed.