रोटरी क्लब अफ कपनको दशौँ स्थापना दिवस सम्पन्न, ११औँ वर्षमा प्रवेश

काठमाडौं। रोटरी क्लब अफ कपनले आफ्नो दशौँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। समाजसेवी, सहकारी महासङ्घका उपाध्यक्ष एवं ज्येष्ठ नागरिक डि.बी. बस्नेतको प्रमुख आतिथ्य तथा क्लबकी अध्यक्ष मञ्जु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केक काटेर स्थापना दिवस मनाउँदै क्लबले आफ्नो दशवर्षे यात्रा पूरा गरी ११औँ वर्षमा प्रवेश गरेकोमा खुसी साटासाट गरेको हो।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष प्रल्हाद दाहाल, पूर्वअध्यक्षहरू शिवहरि खनाल, डा. राजु पी. कोन्दन लामा तथा सुचिता काफ्ले, वर्ष २०२७/२८ का प्रेसिडेन्ट दीपकचन्द्र गौतम, उपाध्यक्ष दीपप्रसाद धमला, कोषाध्यक्ष श्रीकृष्ण भण्डारी, सदस्यहरु टीकाप्रसाद घिमिरे, रामभक्त दाहाल, रमेश सन्जेल, हिराकाजी महर्जन, नविना महर्जन लगायत क्लबका पदाधिकारी, सदस्य, पत्रकार तथा शुभचिन्तकहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्लबकी अध्यक्ष मञ्जु श्रेष्ठले क्लबको दशौँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन। उनले कार्यक्रममा उपस्थित अतिथि, सदस्य तथा शुभचिन्तकहरूलाई स्वागत गर्दै क्लबले आगामी दिनमा पनि समाजसेवाका गतिविधिलाई निरन्तरता दिन सबैको साथ, सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको बताइन। साथै आगामी दिनमा पनि सबै सदस्यले एकताबद्ध भएर क्लबलाई अघि बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरिन।

यसैगरी, क्लबका वर्ष २०२७/२८ का प्रेसिडेन्ट दीपकचन्द्र गौतमले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै रोटरी क्लब अफ कपनले स्वदेश तथा विदेशमा आफ्नो सम्पर्क र सम्बन्ध विस्तार गर्दै समाजसेवाका विभिन्न गतिविधिलाई अघि बढाइरहेको बताए। उनले आगामी दिनमा पनि क्लबले सामाजिक सेवाका क्षेत्रमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

क्लबका चार्टर मेम्बर एवं निवर्तमान अध्यक्ष प्रल्हाद दाहालले क्लबको स्थापनाकालदेखि हालसम्म सञ्चालन भएका विभिन्न गतिविधि, सामाजिक सेवाका प्रयास तथा उपलब्धिहरूबारे चर्चा गरेका थिए । उनले क्लबको स्थापना, विकास र यात्राका विभिन्न चरणको स्मरण गर्दै क्लबको इतिहास बारे जानकारी गराए । साथै, विगतका अनुभव र उपलब्धिलाई आत्मसात् गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा समाजसेवामा जुट्नुपर्नेमा जोड दिएका थिए ।

क्लबका चार्टर मेम्बर तथा पूर्वअध्यक्ष डा. राजु पी. कोन्दन लामाले रोटरीको मूल भावना आत्मसात् गर्दै सबै सदस्य एकजुट भएर समाजसेवामा अघि बढ्नुपर्ने कुरा बताए। उनले स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म सामाजिक सेवाका गतिविधिमा आफ्नो तर्फबाट निरन्तर सहयोग र योगदान रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, क्लबका उपाध्यक्ष दीपप्रसाद धमलाले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै रोटरीमा आबद्ध हुनुको मुख्य उद्देश्य व्यक्तिगत लाभभन्दा पनि समाजलाई के दिन सकिन्छ भन्ने भावना रहेको उल्लेख गरेका थिए। आफू पनि यही सेवाभावबाट प्रेरित भएर रोटरीमा आबद्ध भएको बताए । उनले सबै सदस्यलाई सेवाभाव, सहकार्य र समर्पणका साथ सामाजिक कार्यमा निरन्तर लाग्न आग्रह गरेका थिए ।

कार्यक्रमले क्लबका सदस्यहरूबीच आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउनुका साथै विगतका गतिविधिको समीक्षा र आगामी योजनाबारे छलफल गर्ने अवसरसमेत प्रदान गरेको थियो। स्थापना दिवसको अवसरमा केक काटेर खुसी साटासाट गरिएको कार्यक्रममा सहभागी सबैले सामूहिक तस्बिर खिचाउँदै उपस्थित सबै एकै ठाउँमा बसेर क्लबका आगामी गतिविधि, सामाजिक सेवाका सम्भावना तथा भावी योजनाबारे अनौपचारिक छलफल गर्दै रमाइलो वातावरणमा कार्यक्रम सम्पन्न भएको थियो।

दश वर्षको सफल यात्रा पूरा गरी ११औँ वर्षमा प्रवेश गरेको रोटरी क्लब अफ कपनले आगामी दिनमा पनि रोटरीको मूल भावना ‘सेवा नै धर्म हो’ लाई आत्मसात् गर्दै सामाजिक उत्तरदायित्व, मानवीय सेवा र समुदायको हितमा निरन्तर योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

You might also like

Comments are closed.

Secret Link