कृषि यान्त्रीकरण प्रदर्शनीको सपोर्टिङ पार्टनरमा थपिए ग्लोबल आइएमई बैंक र ओविफर्ट

काठमाडौं। आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ मा ग्लोबल आइएमई बैंक र ओविफर्ट स्पोर्टिङ पार्टनरका रूपमा थपिएका छन्। आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा दुवै संस्थाले सहकार्य गर्ने भएका हुन्।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले सामाजिक सञ्जालमार्फत दुवै संस्थालाई धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै प्रदर्शनीको स्पोर्टिङ पार्टनरका रूपमा स्वागत गरेको छ।

नामियाले ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिँदै प्रदर्शनीमा सहयोग र सहकार्यका लागि ग्लोबल आइएमई बैंकप्रति पनि आभार व्यक्त गरेको छ।

ओविफर्टलाई धन्यवाद दिँदै नामियाले कृषि क्षेत्रको विकास, आधुनिकीकरण तथा उन्नत प्रविधिसहित जैविक मल प्रवर्द्धनमा कम्पनीले पुर्‍याउँदै आएको योगदानको उच्च कदर गरेको जनाएको छ।

‘कृषिमा यन्त्र र प्रविधि स् कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा २० देशका दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधि प्रदर्शन गरिने आयोजकले जनाएको छ। प्रदर्शनीको तयारी तिब्र रुपमा भइरहेको नामियाका अध्यक्ष कृष्ण शर्माले बताए।

प्रदर्शनीमा करिब ७० प्रदर्शकको सहभागिता रहनेछ भने १५० भन्दा बढी स्टलमार्फत आधुनिक कृषि यन्त्र तथा प्रविधि प्रदर्शन गरिनेछ। स्वदेशी कृषि यन्त्र तथा उपकरण उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले करिब ३० वटा स्टल स्वदेशी उत्पादक तथा संस्थालाई निःशुल्क उपलब्ध गराइएको छ। प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ।

प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारीखेती, सिँचाइ, बाली भित्र्याएपछिको व्यवस्थापन, कृषि उपज प्रशोधन तथा बजारीकरण, शीतभण्डार, प्राङ्गारिक मल, जैवीक मल, थोपा सिंचाई,नर्सरी र बीउबिजनसँग सम्बन्धित आधुनिक यन्त्र, उपकरण तथा प्रविधि राखिनेछन्। स्वदेशी तथा विदेशी बीउबिजन उत्पादक, कृषि सामग्री विक्रेता तथा कृषि र पशुपन्छीसम्बन्धी सेवा प्रदायक संस्थाको समेत सहभागिता रहनेछ।

प्रदर्शनीमा किसान, कृषि उद्यमी, व्यवसायी, सहकारी, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी संस्था र नीतिनिर्माताले कृषि यान्त्रीकरणसम्बन्धी प्रविधि प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर पाउनेछन्।

प्रदर्शनीको आयोजना कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेशिनरी व्यवसायी संघ ९नामिया०ले संयुक्त रूपमा गर्नेछन्। बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन ९एफएओ० सहआयोजक रहेका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम प्रदर्शनीको प्रवर्द्धक रहेको छ।

प्रदर्शनीको मुख्य प्रायोजक एसकेटी नेपाल प्रालि रहेको छ। युरोपेली संघ (ईयू) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको संयुक्त आर्थिक सहयोगमा जर्मन विकास सहयोग संस्था (जीआईजेड)द्वारा सञ्चालित ग्रेप–२ परियोजना एसोसिएट पार्टनरका रूपमा रहेको छ।

प्लाटिनम प्रायोजकमा जी–सेभेन एग्रिकल्चर प्रालि, शालोम एग्रिकल्चर प्रालि, नेपाल ट्रेड होस्ट प्रालि र बीडी कमर्सियल इक्विपमेन्ट प्रालि रहेका छन्। गोल्ड प्रायोजकमा पशुपति एग्रो ट्रेडर्स, विन्ध्यवासिनी कृषि कम्पनी प्रालि र जैन इरिगेसन सिस्टम्स लिमिटेड रहेका छन्।

प्रदर्शनीलाई राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, सिमिट नेपाल, कृषि विकास बैंक लिमिटेड, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि, उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल कृषि इन्जिनियर्स सोसाइटी, नख्खु सिड्स प्रालि र हेल्भेटास नेपालले सहयोग गरेका छन्।

प्रदर्शनीमार्फत कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रिकीकरण, औद्योगिकीकरण, आधुनिकीकरण तथा व्यावसायिकीकरणतर्फ अघि बढाउन आवश्यक प्रविधि र उपकरणको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ।

प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। आयोजकले प्रदर्शनीमा ५० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको छ।

You might also like

Comments are closed.

Secret Link