सामुदायिक स्वास्थ्य सेवा परिषद्को २३औँ वार्षिक साधारण सभा सम्पन्न

विधान संशोधनसहित वार्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित, उत्कृष्ट चिकित्सक तथा कर्मचारी सम्मानित

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १५, स्वयम्भू डल्लुआवासस्थित सिद्धार्थ सडकमा रहेको सामुदायिक स्वास्थ्य सेवा परिषद्को २३औँ वार्षिक साधारण सभा शनिबार विभिन्न महत्वपूर्ण निर्णय, संस्थागत समीक्षा तथा सम्मान कार्यक्रमसहित सम्पन्न भएको छ।

परिषद्का अध्यक्ष सहप्राध्यापक केशरबहादुर मानन्धरको अध्यक्षतामा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा नं. १५ का कार्यवाहक वडाध्यक्ष ईश्वरमान डंगोलले गरेका थिए ।

समुदायमा सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापित परिषद्को वार्षिक साधारण सभामा संस्थाको विगतको उपलब्धि, वर्तमान अवस्था, आर्थिक व्यवस्थापन, सेवा विस्तार, संस्थागत सुशासन तथा भावी कार्ययोजनाका विषयमा विस्तृत छलफल भएको थियो। सभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनालाई सर्वसम्मत रूपमा पारित गर्नुका साथै समयानुकूल संस्थाको संरचना र कार्यक्षेत्रलाई थप व्यवस्थित बनाउन प्रस्तुत विधान संशोधन प्रस्तावसमेत पारित गरेको छ।

सामुदायिक स्वास्थ्य सेवाको विकासमा सामूहिक एकता र सहकार्य आवश्यक

कार्यक्रममा परिषद्का उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै परिषद्ले स्थापनाकालदेखि नै स्थानीय समुदायको स्वास्थ्य सेवामा पुर्‍याउँदै आएको योगदानको चर्चा गरे। उनले स्वास्थ्य सेवा सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै संस्थाको विकास र निरन्तरताका लागि सदस्य, पदाधिकारी, चिकित्सक, कर्मचारी तथा स्थानीय समुदायबीच आपसी विश्वास, सहकार्य र एकता अपरिहार्य रहेको बताए।

उनले संस्थालाई वर्तमान आवश्यकता र समयअनुसार थप सक्षम बनाउँदै लैजान सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेको उल्लेख गर्दै उपस्थित अतिथि, आजीवन सदस्य, साधारण सदस्य, समाजसेवी तथा सहभागीहरूलाई स्वागत गरे।

वार्षिक प्रगति, आर्थिक अवस्था र भावी कार्ययोजना प्रस्तुत

सभामा परिषद्का महासचिव दीपक चन्द्र गौतमले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रतिवेदन प्रस्तुत गर्दै उनले परिषद्ले लामो समयदेखि समुदायको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राखेर विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको जानकारी गराए। उनले संस्थाको सेवा प्रवाह, व्यवस्थापकीय गतिविधि, जनशक्ति परिचालन, स्वास्थ्य सेवाको गुणस्तर, संस्थागत विकास तथा आगामी योजनाका विषयमा सभालाई जानकारी गराए ।

उनका अनुसार परिषद्ले आगामी दिनमा स्वास्थ्य सेवालाई थप गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाउन आधुनिक चिकित्सा उपकरणको व्यवस्थापन, विशेषज्ञ चिकित्सकीय सेवा विस्तार, दक्ष स्वास्थ्य जनशक्तिको परिचालन, भौतिक पूर्वाधारको सुदृढीकरण तथा व्यवस्थापकीय प्रणालीमा सुधार गर्ने लक्ष्य राखेको छ।

त्यसैगरी, कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले संस्थाको आर्थिक वर्षको आय–व्यय तथा आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। आर्थिक पारदर्शिता, स्रोतसाधनको उचित परिचालन, खर्च व्यवस्थापन तथा संस्थाको आर्थिक दिगोपनका विषयमा सभामा छलफल भएको थियो।

महासचिव र कोषाध्यक्षद्वारा प्रस्तुत दुवै प्रतिवेदनमाथि सदस्यहरूले छलफल तथा सुझाव राखेपछि सर्वसम्मत रूपमा पारित गरिएको थियो। साथै, संस्थाको बदलिँदो आवश्यकता, सेवा विस्तार, व्यवस्थापकीय सुधार र संस्थागत संरचनालाई समयानुकूल बनाउन प्रस्तुत गरिएको विधान संशोधन प्रस्ताव पनि सभाबाट पारित भएको छ।

समुदायको स्वास्थ्य सुरक्षा नै परिषद्को मूल उद्देश्य ः महासचिव गौतम

सभालाई सम्बोधन गर्दै परिषद्का महासचिव दीपक चन्द्र गौतमले सामुदायिक स्वास्थ्य सेवा परिषद् समुदायको स्वास्थ्य सुरक्षा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर स्थापित संस्था भएको बताए।

उनले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै आर्थिक तथा सामाजिक अवस्थाका कारण कुनै पनि नागरिक गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने मान्यताका साथ परिषद् अघि बढिरहेको बताए।

उनले संस्थाको विकासलाई केवल भौतिक संरचना निर्माण र सेवा विस्तारमा मात्र सीमित राख्न नहुने धारणा राख्दै संस्थागत सुशासन, आर्थिक पारदर्शिता, जिम्मेवार व्यवस्थापन, कर्मचारीको कार्यक्षमता, चिकित्सकीय सेवाको गुणस्तर र सेवाग्राहीको विश्वासलाई समान महत्व दिनुपर्ने बताए।

गौतमले संस्थाको विगतको योगदानलाई संरक्षण गर्दै नयाँ सम्भावना र अवसरको खोजी गर्नु आजको आवश्यकता भएको उल्लेख गरे। आधुनिक चिकित्सा उपकरण थप गर्ने, विशेषज्ञ सेवा विस्तार गर्ने, स्वास्थ्य पूर्वाधारलाई सुदृढ बनाउने र सेवाग्राहीमैत्री वातावरण निर्माण गर्ने योजनामा परिषद् केन्द्रित रहेको उनले जानकारी दिए।

उनले संस्थाको दीर्घकालीन विकासका लागि सबै सदस्य, पदाधिकारी, चिकित्सक तथा कर्मचारीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ काम गर्नुपर्नेमा जोड दिए। संस्थाको प्रतिष्ठा र विश्वसनीयता कायम राख्दै परिषद्लाई आर्थिक रूपमा सक्षम, व्यवस्थापकीय रूपमा सबल र सेवाका दृष्टिले उत्कृष्ट सामुदायिक स्वास्थ्य संस्थाका रूपमा स्थापित गर्न सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

संस्थाको गौरवपूर्ण इतिहासलाई संरक्षण गर्दै आधुनिक स्वास्थ्य संस्थाका रूपमा विकास गर्नुपर्छ ः अध्यक्ष मानन्धर

कार्यक्रमका सभापति एवं परिषद्का अध्यक्ष सहप्राध्यापक केशरबहादुर मानन्धरले आफ्नो अध्यक्षीय मन्तव्य व्यक्त गर्दै सामुदायिक स्वास्थ्य सेवा परिषद्ले स्थापनाकालदेखि नै अनेकौँ चुनौती र सीमित स्रोतसाधनका बीच समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए।

उनले परिषद्को २३औँ वार्षिक साधारण सभा केवल वार्षिक गतिविधि र आर्थिक अवस्थाको समीक्षा गर्ने औपचारिक कार्यक्रम मात्र नभई संस्थाको विगतको योगदानको मूल्याङ्कन, वर्तमान अवस्थाको समीक्षा र आगामी दिनको स्पष्ट मार्गचित्र तयार गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गरे।

मानन्धरले संस्थाको विकासमा संस्थापक, पूर्वअध्यक्ष, पदाधिकारी, आजीवन सदस्य, साधारण सदस्य, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गर्दै सबैको सामूहिक प्रयासकै कारण परिषद् आजको अवस्थामा आइपुगेको बताए। संस्थाको गरिमा, प्रतिष्ठा र विश्वसनीयता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको उनको भनाइ थियो।

उनले स्वास्थ्य क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, प्रविधिगत परिवर्तन र समुदायको अपेक्षालाई ध्यानमा राख्दै परिषद्ले आफ्नो सेवा प्रणालीलाई थप आधुनिक, गुणस्तरीय र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए। यसका लागि आधुनिक स्वास्थ्य उपकरणको व्यवस्थापन, विशेषज्ञ चिकित्सकीय सेवाको विस्तार, दक्ष जनशक्तिको परिचालन, भौतिक पूर्वाधारको विकास तथा व्यवस्थापकीय क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने उनले बताए।

अध्यक्ष मानन्धरले स्वास्थ्य संस्था सञ्चालनमा आर्थिक पारदर्शिता, संस्थागत अनुशासन, जिम्मेवारीबोध र सेवाग्राहीप्रतिको उत्तरदायित्व अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै संस्थाका प्रत्येक गतिविधि सदस्यहरूको विश्वास र संस्थाको मूल उद्देश्यअनुसार सञ्चालन हुनुपर्ने धारणा राखे।

उनले परिषद्लाई अझ सक्षम, व्यवस्थित र आत्मनिर्भर बनाउन सदस्यहरूबीच आपसी सद्भाव, सहकार्य र एकता आवश्यक रहेको बताउँदै संस्थाको हितलाई केन्द्रमा राखेर सबैले सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे । साथै, चिकित्सक तथा कर्मचारीहरूको योगदानको उचित सम्मान, उनीहरूको कार्यक्षमताको विकास र सेवामैत्री वातावरण निर्माणमा व्यवस्थापनले निरन्तर ध्यान दिनुपर्ने उनको भनाइ थियो।

उनले संस्थाको विगतको उपलब्धिलाई आधार बनाएर नयाँ सम्भावनाको खोजी गर्दै आगामी दिनमा परिषद्लाई समुदायको विश्वास जित्न सफल, आधुनिक र उदाहरणीय सामुदायिक स्वास्थ्य संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

परिषद्को विकासमा वडा कार्यालयको सहयोग रहने प्रतिबद्धता

कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिका वडा नं. १५ का कार्यवाहक वडाध्यक्ष ईश्वरमान डंगोलले परिषद्ले स्थानीय समुदायमा लामो समयदेखि पुर्‍याउँदै आएको स्वास्थ्य सेवाको प्रशंसा गरे।

उनले सामुदायिक स्वास्थ्य संस्थाहरू स्थानीय जनताको स्वास्थ्य सुरक्षाका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्ता संस्थाको संरक्षण, प्रवर्द्धन र विकासमा स्थानीय सरकारको पनि महत्वपूर्ण जिम्मेवारी रहने बताए।

स्वास्थ्य सेवा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले समुदायको आवश्यकता पहिचान गरी स्वास्थ्य सेवाको दायरा विस्तार गर्नुपर्ने उनको धारणा थियो। परिषद्ले सीमित स्रोतसाधनका बीच पनि समुदायलाई सेवा दिँदै आएको उल्लेख गर्दै उनले संस्थाको विकास, आवश्यक समन्वय तथा सेवा विस्तारका लागि वडा कार्यालयका तर्फबाट सम्भव सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे।

उनले स्थानीय समुदाय, सामाजिक संघसंस्था र स्थानीय सरकारबीच सहकार्य हुन सकेमा स्वास्थ्य सेवा अझ प्रभावकारी र जनमुखी बन्ने विश्वाससमेत व्यक्त गरे।

स्वास्थ्य, शिक्षा र सामाजिक सेवा समाज विकासका आधार स् पूर्वमन्त्री जीवनराम श्रेष्ठ

कार्यक्रममा सम्बोधन गर्दै पूर्वमन्त्री जीवनराम श्रेष्ठले स्वास्थ्य, शिक्षा र सामाजिक सेवा समाज विकासका प्रमुख आधार भएको बताए।

उनले सामुदायिक संस्थाहरूले राज्यको सेवा प्रवाहलाई स्थानीय तह र जनसमुदायसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। सरकारी स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी बनाउन सामुदायिक स्वास्थ्य संस्थाहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।

श्रेष्ठले संस्थाको विकासका लागि विगतका अनुभवबाट सिक्दै वर्तमान चुनौतीलाई पहिचान गर्नुपर्ने र भविष्यका लागि स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने बताए। संस्थाको निरन्तरता र प्रभावकारिताका लागि सदस्यहरूको सक्रियता, व्यवस्थापनको जिम्मेवारी र समुदायको विश्वास महत्वपूर्ण हुने उनले उल्लेख गरे।

उनले सामुदायिक स्वास्थ्य सेवा परिषद्ले स्थानीय समुदायको हितमा पुर्‍याउँदै आएको योगदानलाई निरन्तरता दिँदै संस्थालाई अझ व्यवस्थित र सक्षम बनाउन सबै पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

आधुनिक प्रविधि र दक्ष जनशक्तिबिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छैन ः प्रा.डा. बुलन्द थापा

परिषद्का प्रमुख सल्लाहकार प्रा. डा. बुलन्द थापाले स्वास्थ्य सेवा नागरिकको जीवन, सामाजिक सुरक्षा र समग्र विकाससँग प्रत्यक्ष सम्बन्धित अत्यन्त संवेदनशील तथा महत्वपूर्ण क्षेत्र भएको बताए।

उनले स्वास्थ्य सेवालाई केवल बिरामीको उपचारमा सीमित राख्न नहुने उल्लेख गर्दै रोगको रोकथाम, समयमै स्वास्थ्य परीक्षण, सही निदान, स्वास्थ्य सचेतना, प्रभावकारी उपचार तथा उपचारपछिको उचित परामर्शलाई समेत समेट्नुपर्ने बताए।

उनले पछिल्लो समय चिकित्सा विज्ञान र स्वास्थ्य प्रविधिमा तीव्र विकास भइरहेको अवस्थामा सामुदायिक स्वास्थ्य संस्थाहरूले पनि आफूलाई समयअनुसार परिवर्तन र परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए। आधुनिक चिकित्सा उपकरण, विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्तिको उचित व्यवस्थापनबाट मात्र स्वास्थ्य सेवाको गुणस्तरमा अपेक्षित सुधार ल्याउन सकिने उनको धारणा थियो।

परिषद्ले सीमित स्रोतसाधनका बीच पनि समुदायलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा संस्थाको विकासका लागि दीर्घकालीन सोच, स्पष्ट कार्ययोजना, संस्थागत अनुशासन, आर्थिक पारदर्शिता र उत्तरदायी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले संस्थाको विकास कुनै एक व्यक्ति, अध्यक्ष वा पदाधिकारीको मात्र जिम्मेवारी नभई सम्पूर्ण सदस्य, व्यवस्थापन समिति, चिकित्सक तथा कर्मचारीको साझा दायित्व भएको स्पष्ट पारे।

थापाले संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यावसायिक दक्षता र सेवाभाव नै संस्थाको वास्तविक शक्ति भएको उल्लेख गर्दै उनीहरूलाई आवश्यक वातावरण, प्रविधि र स्रोतसाधन उपलब्ध गराउनु व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी भएको बताए।

परिषद्लाई आधुनिक प्रविधियुक्त, दक्ष जनशक्तिसम्पन्न, सेवाग्राहीमैत्री र समुदायको विश्वास जित्न सफल स्वास्थ्य संस्थाका रूपमा स्थापित गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा उनले विशेष जोड दिए।

संस्थाको इतिहास र स्थापनाकालीन योगदानलाई बिर्सनु हुँदैन ः हरिगोपाल श्रेष्ठ

परिषद्का पूर्वअध्यक्ष हरिगोपाल श्रेष्ठले संस्थाको स्थापनाकालदेखि हालसम्मको विकास यात्रा स्मरण गर्दै प्रारम्भिक चरणमा सीमित स्रोतसाधन, भौतिक पूर्वाधारको अभाव तथा विभिन्न चुनौतीका बीच समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्ने पवित्र उद्देश्यका साथ संस्था अघि बढाइएको बताए।

उनले संस्थाको विकासमा संस्थापक, पूर्वअध्यक्ष, पदाधिकारी, आजीवन सदस्य, स्थानीय समाजसेवी, चिकित्सक तथा कर्मचारीहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।

विगतमा धेरै व्यक्तिहरूले आफ्नो समय, श्रम, सीप, अनुभव र स्रोतसाधन समर्पण गरेर संस्थालाई वर्तमान अवस्थासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले ती सबैको योगदानको सम्मान र कदर हुनुपर्ने बताए।

श्रेष्ठले संस्थाको इतिहास केवल विगतका उपलब्धिहरूको विवरण मात्र नभई आगामी पुस्ताका लागि प्रेरणा, मार्गदर्शन र जिम्मेवारीको आधार भएको उल्लेख गरे। संस्थाले स्थापना हुँदा लिएको सेवामूलक उद्देश्य र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै समयअनुसार सेवा र क्षमता विस्तार गर्नुपर्ने उनको धारणा थियो।

उनले परिषद्लाई आर्थिक रूपमा आत्मनिर्भर, व्यवस्थापकीय रूपमा सक्षम र सेवाका दृष्टिले प्रभावकारी बनाउनु अहिलेको आवश्यकता भएको बताए। संस्थाको प्रतिष्ठा र विश्वसनीयता जोगाउनु सबै सदस्य तथा पदाधिकारीको साझा दायित्व भएको उल्लेख गर्दै विगतका योगदानको सम्मानसँगै नयाँ पुस्तालाई संस्थाको नेतृत्व र विकास प्रक्रियामा सहभागी गराउन सके मात्र संस्थाको दिगोपन सुनिश्चित हुने बताए।

उत्कृष्ट चिकित्सक तथा कर्मचारीलाई पुरस्कार र सम्मान

२३औँ वार्षिक साधारण सभाको विशेष अवसरमा परिषद्मा उत्कृष्ट सेवा, व्यावसायिक दक्षता, जिम्मेवारी र समर्पण प्रदर्शन गर्ने चिकित्सक तथा कर्मचारीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

यस क्रममा ‘हरिगोपाल–मेनका श्रेष्ठ उत्कृष्ट चिकित्सक पुरस्कार’ बाट मुटुरोग विशेषज्ञ डा. सन्तोष लाल श्रेष्ठ तथा छालारोग विशेषज्ञ डा. सञ्जय शाक्य सम्मानित भएका छन्।

त्यसैगरी, ‘केशरबहादुर–रञ्जना उत्कृष्ट कर्मचारी पुरस्कार’ बाट परिषद्का कर्मचारीद्वय अहेब सत्यदेवी गुरुङ र ल्याब असिस्टेन्ट लक्ष्मण महर्जन पुरस्कृत भएका छन् ।

संस्थाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन चिकित्सक तथा कर्मचारीहरूले निर्वाह गर्दै आएको जिम्मेवारी, व्यावसायिक दक्षता, सेवाभाव र योगदानको कदरस्वरूप प्रदान गरिएका यी पुरस्कारले संस्थामा कार्यरत जनशक्तिलाई थप प्रेरणा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा सम्मानित चिकित्सक तथा कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै उनीहरूको मेहनत, अनुशासन र सेवाप्रतिको समर्पणले संस्थाको प्रतिष्ठा अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरिएको थियो।

सामाजिक संस्थाबीच सहकार्य र सम्बन्ध विस्तारमा जोड

कार्यक्रममा रोटरी क्लब अफ कपनका अमर हाडा तथा रोटरी क्लब अफ न्यूरोडका प्रतिनिधिहरू अतिथिका रूपमा सहभागी भएका थिए।

सामुदायिक स्वास्थ्य सेवा परिषद् र सामाजिक सेवामा क्रियाशील रोटरी क्लबहरूबीचको सहभागिताले सामाजिक संस्था, स्वास्थ्य सेवा प्रदायक निकाय र स्थानीय समुदायबीच सहकार्य तथा सम्बन्ध विस्तारको महत्वलाई थप उजागर गरेको थियो।

सामाजिक उत्तरदायित्व, जनस्वास्थ्य प्रवर्द्धन, स्वास्थ्य सचेतना र समुदायको हितमा विभिन्न संघसंस्थाबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको सन्दर्भमा यस्ता संस्थाहरूको सहभागिता महत्वपूर्ण रहेको बताइएको थियो।

संस्थागत सुदृढीकरण, पारदर्शिता र सेवा विस्तार आगामी प्राथमिकता

परिषद्का अध्यक्ष सहप्राध्यापक केशरबहादुर मानन्धरको अध्यक्षतामा सम्पन्न सभाले संस्थाको विगतको कार्यसम्पादनको समीक्षा गर्दै आगामी दिनमा संस्थालाई थप व्यवस्थित, सक्षम र आत्मनिर्भर बनाउने दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सभाले संस्थाको सेवा विस्तारसँगै आर्थिक अनुशासन, संस्थागत सुशासन, पारदर्शी व्यवस्थापन, सदस्यहरूको सक्रिय सहभागिता तथा चिकित्सक र कर्मचारीको क्षमता अभिवृद्धिलाई महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएको छ।

परिषद्ले आगामी दिनमा आधुनिक स्वास्थ्य प्रविधिको प्रयोग, विशेषज्ञ चिकित्सकीय सेवा विस्तार, दक्ष जनशक्तिको व्यवस्थापन, स्वास्थ्य पूर्वाधारको विकास तथा सेवाग्राहीमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिने लक्ष्य लिएको छ।

कार्यक्रममा परिषद्का साधारण, आजीवन तथा मानार्थ सदस्यहरू, स्थानीय समाजसेवी, बुद्धिजीवी, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, रोटरी क्लबका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन परिषद्की सचिव निशा अधिकारी थापाले गरेका थिए।

२३औँ साधारण सभाले आगामी विकास यात्राका लागि थप आधार तयार

२३औँ वार्षिक साधारण सभाले संस्थाको वार्षिक प्रगति तथा आर्थिक अवस्थाको समीक्षा गर्नुका साथै विधान संशोधन पारित गरेर संस्थागत विकासको आगामी यात्रालाई थप व्यवस्थित बनाउने महत्वपूर्ण आधार तयार गरेको छ।

स्थापनाकालदेखि समुदायको स्वास्थ्य सेवामा समर्पित सामुदायिक स्वास्थ्य सेवा परिषद्ले आफ्नो मूल सेवामूलक उद्देश्यलाई निरन्तरता दिँदै बदलिँदो स्वास्थ्य आवश्यकता र प्रविधिगत विकासअनुसार आफूलाई रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

संस्थापक तथा अग्रजहरूको योगदान, वर्तमान नेतृत्वको व्यवस्थापकीय प्रयास, चिकित्सक तथा कर्मचारीको सेवाभाव र सदस्यहरूको सक्रिय सहभागितालाई एकीकृत गर्दै परिषद्लाई अझ सुदृढ, आत्मनिर्भर, आधुनिक र जनउत्तरदायी स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने साझा संकल्पका साथ २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

You might also like

Comments are closed.

Secret Link