सडक दुर्घटनाका पीडित परिवारको पीडा स्मरण गर्दै दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम

काठमाडौं । विश्व सडक दुर्घटना पीडित स्मृति दिवसको (वर्ल्ड डे अफ रिमेम्बरेन्स फर रोड ट्राफिक भिक्टिम्स)का अवसरमाआइतबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित सरस्वती बजारमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। नासा फाउन्डेसन नेपालको आयोजनामा, नेपाल अटोमोबाइल्स एसोसिएसन तथा नयाँ दिशा क्रियाशिल समुहको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।

रिमेम्बर सपोर्ट एक्ट (सम्झौँ, सहयोग गरौँ र कार्य गरौँ) नारा सहित प्रत्येक वर्ष नोभेम्बर महिनाको तेस्रो आइतबार मनाइने यस दिवसले सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको स्मरण गर्नुका साथै घाइते, दुर्घटनाबाट प्रभावित व्यक्ति र शोकमा रहेका परिवारप्रति ऐक्यबद्धता प्रकट गर्ने उद्देश्य राख्दछ। यस कार्यक्रमको सञ्चालन नासा नेपालका निरज खड्का क्षेत्रीले गरेका थिए। सडक दुर्घटनाबाट प्रभावित परिवारका सदस्य श्याम दर्शन गनेजु र वडा नं। ३ का वडा अध्यक्ष गणेश आचार्य लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी, युवा, सामाजिक अभियन्ता तथा सडक सुरक्षा अभियानमा चासो राख्ने व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सडक दुर्घटनाबाट प्रभावित परिवारका तर्फबाट श्याम दर्शन गनेजुलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो। उनले दुर्घटनाका कारण परिवारले भोग्नुपरेको असह्य पीडा, पारिवारिक विछोड र त्यसले जीवनमा पारेको गहिरो प्रभावबारे आफ्नो अनुभव सुनाए। उनको भावनात्मक अभिव्यक्तिले सडक दुर्घटनाले एउटा व्यक्तिको जीवन मात्र नभई सिङ्गो परिवारको खुसी, सपना र भविष्यसमेत प्रभावित पार्ने यथार्थलाई उजागर गरेको थियो।

कार्यक्रममा सहभागीले सडक दुर्घटनामा जीवन गुमाएका सम्पूर्ण व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका थिए। साथै दुर्घटनामा घाइते भएका तथा आफ्ना प्रियजन गुमाएर पीडामा रहेका परिवारप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरिएको थियो। युय फर रोड सेफ्टी ईन नेपालका संयोजक संयोजक किरण धितालले सडक दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना, जिम्मेवार व्यवहार र प्रभावकारी अभियानको आवश्यकता औँल्याए। उनले सडक सुरक्षा केवल सरकारी निकाय वा ट्राफिक प्रहरीको जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको धारणा व्यक्त गरे।

त्यसैगरी नासा फाउन्डेसन नेपालकी संयोजक डा. टीका ढकालले सडक दुर्घटनालाई केवल तथ्याङ्क वा समाचारका रूपमा मात्र हेर्न नहुने बताउँदै यसले एउटा व्यक्तिको जीवनसँगै परिवार, समाज र भविष्यका सम्भावनासमेत प्रभावित पार्ने उल्लेख गरे। उनले सडक सुरक्षा मानव जीवन र मानव अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले दुर्घटना हुनुअघि नै रोकथाम र सचेतनालाई प्राथमिकता दिनुपर्ने बताए। उनले भने, “सडक दुर्घटनामा एउटा व्यक्तिको जीवन समाप्त हुँदा एउटा परिवारको सपना, आशा र खुसीसमेत टुट्न सक्छ। त्यसैले सडक सुरक्षा अभियान दुर्घटना भएपछि शोक मनाउने विषयमा मात्र सीमित हुनु हुँदैन, दुर्घटना हुन नदिन पूर्वसावधानी र सचेतना फैलाउने सामाजिक अभियानका रूपमा विकास गर्नुपर्छ।”उनले सवारी चालक, यात्रु, पैदलयात्री, विद्यालय, स्थानीय सरकार, नागरिक समाज र सम्बन्धित सबै सरोकारवालालाई सडक सुरक्षाप्रति जिम्मेवार बन्न आग्रह गरे। ट्राफिक नियमको पालना, तीव्र गति नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग र पैदलयात्रीको सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा स्थानीय समाजसेवी सर्वश्री अधिकारी लगायत समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तिको सक्रिय सहभागिता रहेको थियो। सहभागीले सडक दुर्घटना न्यूनीकरणका लागि स्थानीय समुदायको भूमिका, नागरिक सचेतना र सामूहिक पहलको आवश्यकताबारे आफ्ना धारणा राखेका थिए। युवाहरूले सडक सुरक्षा अभियानलाई विद्यालय, समुदाय र सार्वजनिक स्थानसम्म विस्तार गर्नुपर्ने विचार व्यक्त गरेका थिए।

कार्यक्रमले दुर्घटनाबाट प्रभावित परिवारको पीडा र उनीहरूको सामाजिक तथा भावनात्मक अवस्थाप्रति समाजको ध्यानाकर्षण गराएको थियो। पीडित परिवारलाई एक्लो महसुस हुन नदिन राज्य, समुदाय र सामाजिक संघसंस्थाले सहानुभूति, सहयोग र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने सन्देशसमेत दिइएको थियो। कार्यक्रमको मुख्य उद्देश्य सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानपूर्वक स्मरण गर्नु, घाइते तथा पीडित परिवारप्रति ऐक्यबद्धता प्रकट गर्नु, सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्नु र दुर्घटना न्यूनीकरणका लागि नागरिकस्तरमा जिम्मेवारी तथा प्रतिबद्धता विकास गर्नु रहेको आयोजकले जनाएको छ।

नासा फाउन्डेसन नेपालले सडक सुरक्षा मानव जीवन र मानव अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस्ता अभियानलाई देशव्यापी रूपमा विस्तार गर्दै स्थानीय तह, विद्यालय, युवा समूह, नागरिक समाज र सरोकारवाला निकायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमको अन्त्यमा सडक दुर्घटनामा परी जीवन गुमाएका सम्पूर्ण व्यक्तिहरूको सम्झनामा दीप प्रज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। सहभागीहरूले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो। । साथै सडक दुर्घटना न्यूनीकरणका लागि आफू पनि सचेत रहने र समुदायमा सडक सुरक्षा अभियानलाई निरन्तर अगाडि बढाउने सामूहिक प्रतिबद्धतासहित दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभामार्फत कार्यक्रम समापन गरिएको थियो।

You might also like

Comments are closed.

Secret Link