चालु खाता खर्बभन्दा बढी घाटामा

काठमाडौं । मुलुकको चालु खाता  एक खर्ब एक अर्ब ९० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्ब रुपैयाँले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको जनाएको छ ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ७ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.३ प्रतिशतले कमी आई ९ अर्ब २ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ३० करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोड रुले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको छ ।

यसैगरी गत माघ मसान्तसम्म रु १४ खर्ब ६२ अर्ब तीन करोड बराबरको विदेशी विनिमय सञ्चिति छ । गत असार मसान्तमा रु १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा गत माघ मसान्तमा आठ प्रतिशतले वृद्धि भई १२ अर्ब ५७ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा गत माघ मसान्तमा पाँच प्रतिशतले वृद्धि भई रु १२ खर्ब ८७ अर्ब ५० करोड पुगेको छ ।

You might also like

Comments are closed.