सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको छ : अध्यक्ष नेपाल

वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाइन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन् । काठमाडौंमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँ- काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित भेलामा अध्यक्ष नेपालले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको बताए ।

नेपालले पाँच दलको एकता बलियो रहेको भन्दै गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताए । उनले राष्ट्रियसभा तथा उपचुनावमा गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर सवै क्षेत्रमा विजय हासिल गर्ने बताए । उनले आगामी चुनावमा नेकपा (एकीकृत समाजवादी)को विजयी अभियान सुरु हुने समेत बताए । ।

jutta mela

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रलाई पनि बेथिती मुक्त बनाउने प्रतिवद्धता जनाए । वैदेशिक रोजगारीको क्षेत्रमा रहेका बेथिती हटाउँदै व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन कानूनलाई कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ । मन्त्री श्रेष्ठले सरकारले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको समेत बताए ।

कार्यक्रममा पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेताहरु प्रतापलाल श्रेष्ठ, विजय गुरुङ, दिलु पन्त, श्रीराम कार्की लगायतले नेकपा (एकीकृत समाजवादी)को पक्षमा जनलहर आएको बताएका थिए । भेलाबाट श्रीराम पौडेलको अध्यक्षतामा ३७ सदस्यीय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँ- काठमाडौं सम्पर्क मञ्च गठन गरिएको छ ।

कार्यक्रममा एमाले-कांग्रेस लगायत पार्टी परित्याग गरि नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका ५३ जनालाई पार्टी अध्यक्ष नेपालले स्वागत गरेका थिए ।

You might also like

Comments are closed.