मुम्बई र बैङ्लोरमा पुनः उडान हुँदै, दिल्ली र दुबईमा उडान थपिने

सिबी अधिकारी/काठमाडौं । .राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ ।

कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने भएको हो । महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण २०७६ चैतदेखि स्थगित उडान पुनः सुचारु हुने भएको निगमले जनाएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले महामारीका कारण स्थगित गरिएका मुम्बई र बैङ्लोर उडान पुनः सुरु गर्ने तयारीमा रहेको जानकारी दिए । योसहित अब साविकबमोजिम भारतका तीनवटै गन्तव्य नयाँदिल्ली, मुम्बई र बैंलोरमा निगमको नियमित उडान हुनेछ ।

सन् २०२० मार्च २१ तारिखदेखि भारतको बैङ्लोरमा नेपाल एयरलाइन्सको उडान हुन सकेको थिएन । अध्यक्ष अधिकारीका अनुसार डिसेम्बर १७ तारिखदेखि मुम्बईमा साताको दुई दिन हरेक शुक्रबार र सोमबार नेपाल एयरलाइन्सको उडान हुनेछ । त्यसैगरी बैङ्लोर गन्तव्यमा पनि डिसेम्बर १८ तारिखदेखि साताको दुई दिन हरेक शनिबार र मङ्गलबार उडान हुनेछ । दुवै गन्तव्यका लागि छिट्टै टिकटको बुकिङ पनि खुला गरिनेछ ।

काठमाडौं–बैङ्लोर–काठमाडौंको उडान धार्मिक पर्यटनका दृष्टिले पनि राम्रो मानिन्छ । छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आउने गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडान तथा उडान सङ्ख्या बढ्ने भएकाले अब नेपाल आउने भारतीय नागरिक बढ्ने अनुमान गरिएको छ । नेपाल एयरलाइन्सको बैङ्लोरकी स्टेसन म्यानेजर रीतादेवी राईले भारतबाट नेपाल आउन चाहने धेरैभन्दा धेरै धार्मिक यात्रु प्रतीक्षारत रहेको बताइन् । एक दुई दिनभित्रै अग्रिम बुकिङ खुलाइने उनले जानकारी दिइन् । बैङ्लोरबाट नेपाल आउने धार्मिक पर्यटकको सङ्ख्या ठूलो रहेकाले यो गन्तव्यको व्यापार पनि राम्रो हुने म्यानेजर राईको भनाइ छ ।

नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा सातामा सात उडान थप्ने भएको छ । कोभिड महामारीपछि उडान स्थगित भएको केही समयपछि एयर बबल सम्झौताअनुसार सुरुमा साताको दुई तथा हाल दैनिक एक उडान गर्दै आएको नेपाल एयरलाइन्सले अब दैनिक दुई उडान भर्ने तयारी गरेको एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीले अब दैनिक दुई उडान गर्ने गरी हाल भइरहेका सातामा सात उडानलाई १४ बनाउन लागिएको जानकारी दिए । एयरलाइन्सको व्यापारिक हिसाबले नयाँ दिल्ली महत्वपूर्ण मानिन्छ । यो गन्तव्यमा दुइतर्फी यात्रुको चाप रहन्छ ।

नेपाल एयरलाइन्सले दुबई गन्तव्यमा पनि उडान थप्ने भएको छ । दुबईमा पनि सातामा सात उडान भइरहेकामा अब थप दुई उडान थपेर सातामा नौ उडान सञ्चालन गरिनेछ । यो गन्तव्यमा डिसेम्बर ५ तारिखदेखि दुई उडान थप गरिने एयरलाइन्सले जनाएको छ ।

नेपाल एयरलाइन्स नेपाली श्रमिकको बाहुल्यता रहेको साउदी अरेबियामा पनि छिट्टै उडान सञ्चालन गर्ने गरी अन्तिम तयारीमा जुटेको छ । निगमका अध्यक्ष अधिकारीका अनुसार साउदी अरेबियाको रियाद र दमाम गन्तव्यमा सातामा दुई उडान गर्नेगरी तयारी भइरहेको छ । जिएसए छनोट भई त्यहाँको सिभिल एभिएसनबाट उडान अनुमति लिने प्रक्रिया करिब अन्तिम चरणमा रहेकाले ढिलोमा महिना दिनभित्रै उडान सञ्चालन गरिने अध्यक्ष अधिकारीले बताए । नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाईड बडी ए ३३० जहाज छन् ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.