पीडित परिवारलाई ७ लाख रुपैयाँ राहत    

बैतडी । पहिरामा परेर बैतडीमा मृत्यु भएका परिवारलाई सरकारका तर्फबाट राहत वितरण गरिएको छ । गत कात्तिक पहिलो साता पहिरोमा परेर मृत्यु भएका शिवनाथ गाउँपालिकाका दुई र सूर्नया गाउँपालिकाका एक परिवारलाई गरी रु सात लाख नगद राहत वितरण गरिएको हो ।

पहिरामा परेर शिवनाथमा एकै परिवारका दुई गरी तीन र सूर्नयामा एक जनाको गरी चार जनाको मृत्यु भएको थियो । चारै जनालाई सरकारका तर्फबाट राहतस्वरूप नगद रु सात लाख उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । सरकारले प्रत्येक मृतकका परिवारलाई रु दुई लाखका दरले राहत दिने र सोही परिवारका अरु सदस्यको पनि मृत्यु भएमा थप एक÷एक लाख दिने घोषणा गरेको थियो ।

शिवनाथ–६ बसेडीका एउटै परिवारका भएकाले भानु पार्की र देवानी पार्कीलाई रु तीन लाख तथा र पवित्रा पार्कीको परिवारलाई दुई लाख राहत उपलब्ध गराइएको हो । यस्तै सुर्नया–५ रामकी बरायलकी परुदेवी महराको परिवारलाई दुई लाख राहत दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरु सबैलाई घरमै पुगेर राहत प्रदान गरिएको सूचना अधिकारी भारतीले बताए ।

यसअघि गत महिना शिवनाथ गाउँपालिकाले पहिरोबाट मृत्यु भएका बसेडीका मृतक परिवारलाई राहतस्वरुप रु एक लाख ५० हजार प्रदान गरेको थियो । शिवनाथ–६ बसेडीका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीलाई गाउँपालिकाले राहत स्वरुप जनही ५० हजार प्रदान गरेको हो ।

गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण चारको मृत्यु भएको थियो भने करोडौँको धनमालको क्षति भएको थियो । जिल्लाका सबै स्थानीय तहमा भएको अन्य क्षतिको विवरण सङ्कलनको काम सकिएकाले राहतका लागि सरकारसँग अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

 

You might also like

Comments are closed.