मिर्गौला पीडितलाई २ लाख रुपैयाँ सहयोग    

दमौली । तनहुँ समाज हङकङले दुवै मिर्गौला पीडित तनहुँको व्यास नगरपालिका–९ भोटेनीका मीनबहादुर गुरुङलाई आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहनुभएका गुरुङलाई समाजका तर्फबाट २ लाख ३० हजार ६१२ रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

उक्त सहयोग समाजका पूर्वअध्यक्ष भीमराज गुरुङ र निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले पीडित गुरुङलाई हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै समाजका पूर्वअध्यक्ष गुरुङले सामाजिक काम गर्दै आएको समाजले आफ्नो क्षमताले भेटेसम्म विभिन्न रोगबाट पीडित भई उपचारमा रहेका बिरामीहरुलाई सहयोग गर्ने बताए । निवर्तमान अध्यक्ष थापाले तनहुँ समाज हङकङले जहिले पनि दीनदुखीको दुःखमा साथ दिँदै आएको बताए ।

यसअघि पनि समाजले तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ घर भएका दुईजना मिर्गौला पीडितलाई रु चार लाख ५७ हजार आर्थिक सहयोग गरेको थियो । दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेका ४१ वर्षीय लुमबहादुर रिमालीलाई  एक लाख ८२ हजार आठ सय रुपैयाँ र ३६ वर्षीय नेपालीलाई  दुई लाख ७४ हजार दुई सय रुपैयाँ सहयोग गरिएको थियो ।

समाजले तनहुँमा विगत दश वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । समाजले कोभिड महामारीको बेला दसवटै स्थानीय तहमा रु १५/१५ हजार सहयोग गरेको थियो । साथै, गत असारमा आएको पहिराबाट पीडित भएका ऋषिङका पहिरो पीडितलाई समाजले  दुई लाख ४४ हजार सहयोग गरेको थियो । समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउन १५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरेको छ ।

विसं २०५६ सालमा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको ब्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । दमौलीस्थित गण्डकी विकास बैंकमा स्थापित अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ । समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा ५ लाख रुपैयाँको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने साथै क्यामिनको छापथोक, भीमाद लगायतका स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ ।

समाजमा चार सय जना तनहँुवासी आबद्ध छन् । समाजले हङकङमा समेत विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.