डोटीका केही क्षेत्र अझै अन्धकारमा

डोटी । डोटीका विभिन्न स्थानीय तहमा अहिले सम्म विद्युत सेवा विस्तार हुन सकेको छैन। विद्युत नभएका कारण यहाँका तीन स्थानीय तहका विभिन्न वडा वर्षौदेखि अन्धकार भएका छन् । जिल्लाका कुल नौवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहका विभिन्न वडामा हाल सम्म पनि विद्युत बिस्तार भएको छैन।

विद्युत् बिस्तार मात्रै होइन पोल समेत गाडिएका छैनन् । विद्युत नहुँदा यहाँका विभिन्न वडामा कामकाजमा समस्या हुने गरेको बताइएको छ । जिल्लाको बोगटान फुड्सिल, बडीकेदार तथा जोरायल गाउँपालिकाका अधिकांश वडामा अहिलेसम्म पनि बिजुली बिस्तार हुन नसक्दा कामकाजमा समस्या हुने गरेको कर्मचारी बताउँछन् ।

जोरायल गाउँपालिका–५ गड्सेरामा स्थानीय जलविद्युत् भए पनि सबै गाउँमा विद्युत् नपुगेको तथा दिउँसो ११ बजेबाट साँझ ५ बजेसम्म विद्युत् लाइन कटौती गरिने भएका कारण कार्यालयको कामकाज तथा अन्य काम गर्नमा निकै समस्या उत्पन्न हुने गरेको वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए ।

उनले भने, “स्थानीय गड्सेरीगाढ खोलाबाट विद्युत् त निकालेका छौँ, तर उक्त विद्युत् दिउँसो कार्यालय समयमा काटिने भएका कारण समस्या हुने गरेको छ,राति बत्ती आएपछि मात्रै कार्यालयको काम गर्नुपर्ने हुन्छ ।” विद्युतले पावर धान्न नसक्ने भएका कारण दिउँसोको समयमा विद्युतलाईन कटौती गरी राति केही गाउँमा विद्युत् वितरण गरिँदै आएको गड्सेरीगाढ लघुजलविद्युत् आयोजनाका अध्यक्ष लीलाधर विष्टले बताए ।

उनले भने, “विद्युतको उत्पादन क्षमता कमी छ, सबै गाउँमा विद्युत् वितरण गर्न सकिएको छैन,त्यसैले दिउँसो बत्ती काट्ने गरेका हौँ राष्ट्रिय प्रशारण लाइन विस्तार भएको छैन् ।” त्यस्तै जिल्लाको बडिकेदार गाउँपालिकामा भने अहिलेसम्म विद्युत् विस्तार भएको छैन । विद्युत् नहुँदा स्थानीयवासी राति सल्लाको झुरो तथा केहीले सोलार बत्ती प्रयोग गर्न थालेको बडीकेदार–५ कोला गाउँका स्थानीय टेकबहादुर कलेलले बताए ।

उता बोटगटान फुड्सिल गाउँपालिकाको टुडागाढमा स्थानीय टुडागाढ विद्युत् पावरहाउस भए पनि सबै वडामा विद्युत् विस्तार गर्न नसकिएको सो गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताए । उनले भने, “टुडागाढ खोलाको विद्युत् सबै वडामा पु¥याउन सकिएको छैन, विद्युत् नहुँदा सारै समस्या हुने गरेको छ ।” त्यस्तै राष्ट्रिय विद्युत् प्रशारण लाइनको पहुँच नहुँदा बडीकेदार गाउँपालिकाले सोलारको भरमा गाउँपालिकाको काम गरिरहेको सो गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । उनले भने, “हामीसँग राष्ट्रिय विद्युत् प्रशारण लाइन पनि छैन, स्थानीय विद्युत् पनि उत्पादन गरिए पनि वितरण भएको छैन, सोलारकै भरमा सबै काम चलाउनुपर्ने बाध्यता छ ।”जिल्लाका यी गाउँपालिकाका विभिन्न वडाहरुमा जडान गरिएका नेपाल टेलिकमका टावरसमेत सोलारकै भरमा चलिरहेका छन् ।

सोलार बत्तीकै भरमा टेलिकम टावर सञ्चालन हुँदा रातिको समयमा उक्त टावरले खासै काम नगर्ने गरेको स्थानीयवासीको गुनासो छ । त्यहाँका गाउँपालिकामा जडान गरिएका नेपाल टेलिकमका टावर घाम नलागेको अर्थात पानी र कुहिरो लागेको दिन पूर्ण रुपमा बन्द हुने गरेको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीयवासी लालबहादुर बिकले बताए । उनले भने,“बिद्युत नहुँदा हामी सञ्चार सम्पर्कबाट पनि बिच्छेद हुने गरेका छौँ, राति नेटवर्क आउदैन, केही समस्या भए फोन सम्पर्क गर्न पनि गाह्रो हुन्छ ।”

You might also like
Ram Tulasi Palpa

Comments are closed.