बेरुजु फर्छौटमा उल्लेखनीय काम गर्नेलाई पुरस्कार

 

काठमाडौं । गृह मन्त्रालयले बेरुजु फर्छौटमा उल्लेखनीय काम गर्ने गृह मन्त्रालय र मातहतका निकायका अधिकारीलाई आइतबार पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेको छ । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहमन्त्री रामबहादुर थापाले बेरुजु फर्छौटमा उत्कृष्ट कार्य गरेको उल्लेख गर्दै गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललगायतलाई प्रशंसापत्रसहित सम्मान गरेका थिए । मन्त्रालयले उनिहरूलाई नगद रकमसमेत प्रदान गरेको थियो ।

गृह मन्त्रालय र मातहतका निकायको आव २०७५÷७६ र आव २०७६÷७७ मा कूल दुई अर्ब १६ करोड ५७ लाख रुपैयाँ बेरुजु रहेकोमा २०७७ असार मसान्तसम्ममा एक अर्ब ६६ करोड ४७ लाख रुपैयाँ बेरुजु फर्छौट भएको छ । यो कूल बेरुजुको ७६ दशमलव ८७ प्रतिशत हो । प्राप्त विवरणअनुसार गृह मन्त्रालयले ७६ दशमलव ८७ प्रतिशत बेरुजु फर्छौट गरेको छ । यस्तै प्रहरी प्रधान कार्यालयले ९१ प्रतिशत, सशस्त्र प्रहरी बल नेपालले ६१ दशमलब ९२ प्रतिशत बेरुजु फर्छौट गरेको छ ।

यस्तै बेरुजु फर्छौटमा उत्कृष्ट काम गर्ने तीन जिल्ला प्रशासन कार्यालयलाई सम्मान गरिएको छ । जसअन्तर्गत नुवाकोट प्रशासनले सबैभन्दा बढी ९९, काठमाडौँले ९४ र काभ्रेपलाञ्चोकले ६१ प्रतिशत बेरुजु फर्छौट गरेको गृह मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.