माघी पर्वको चहलपहल सुरु

कैलाली । पश्चिमी तराईका कैलालीलगात जिल्लाहरुमा बसोबास गर्ने चौधरी–थारू समुदायमा नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्वको चहलपहल सुरु भएको छ ।

विशेषगरी पुस अन्तिम दिनबाट सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने यो पर्वमा माघ १ गतेलाई नयाँ वर्षको रुपमा स्वागत गर्दै हर्सोल्लास वातावरणमा मनाइने गरेको थारु अगुवा एवं थारु कल्याणकारीका केन्द्रीय सदस्य प्रभातकुमार चौधरीले जानकारी दिए ।

वर्षभरि गर्नुपर्ने सार्वजनिक कामका साथै गाउँको मुख्य व्यक्तिका रुपमा भलमन्सा, अघरिया, चौकीदरवा लगायतका पदहरुमा ककसलाई चयन गर्ने भन्ने विषयमा पनि चौधरी थारू बस्तीहरुमा छलफल चलिरहेको छ । माघी मनाउने तयारीस्वरुप प्रत्येक घरपरिवारमा सुँगुर र बङ्गुरको मासुको व्यवस्थापन गर्नुका साथै गाउँका लागि आवश्यक कार्ययोजनाबारे एक ठाउँमा भेला भएर छलफल गरिरहेको उनको भनाइ छ । मासुका लागि बङ्गुर, सुँगुर काट्नेलाई जिता मार्ने भनिन्छ । आज राति नै थारु जातिको संस्कृति अनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, आगो ताप्ने, बङ्गुरको मासु, गञ्जी, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको केन्द्रीय सदस्य चौधरीको भनाइ छ ।

jutta mela

“माघे सङ्क्रान्तिका दिन अर्थात् भोलि विशेष गरी बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गरेर घरका महिलाले छुट्याइएको चामल र मासको दाल छुने र त्यो छोएको चामल र मासको दाल घरका चेलीबेटी वा ब्राह्मणलाई दिई टीका लगाउने चलन छ”, चौधरीले भने, “त्यसपछि घरका आफूभन्दा ठूलाबडाबाट आशिर्वाद लिने परम्परा रहिआएको छ ।” पर्वको तेस्रो दिन अर्थात् माघ २ गते चामल र मासको दालको खिचडी खाने, नजिकका बजारमा जाने परम्परा पनि रहेको उनले बताए ।

थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनइरहेको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका सुन्दरलाल चौधरीले बताए । उनले भने, “थारू गाउँ अहिले माघीमय भएका छन् ।” यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले नयाँनयाँ लुगाकपडा लगाउने चलन छ । रोजगारीका लागि बाहिरका घरका सदस्य पर्व मनाउनका लागि घर पुगिसकेका छन् । पर्वमा विशेष गरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गेटालगायत स्थानीय खानाका पकवान पकाइ खाने चलन छ ।

बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने मुख्य पर्व भएकाले भव्यरुपमा मनाइरहेको धनगढी–२ का प्रेमबहादुर चौधरीले बताए । “गाउँमा आफन्त, परिवारका सदस्य तथा साथीहरु मिलेर रमाइलो गरिरहेका छौँ”, उनले भन्नुभयोने, “माघीको चहलपहल विगतका सम्पूर्ण पीडा भुलाइदिन्छ ।” यति मात्र नभएर थारुबस्तीमा माघौटा, सखिया, झुमरा, लाठी नाचलगायत लोकगीतसँगै डम्फु र मादलको आवाज पनि गाउँघरमा गुन्जिन लागेको छ ।

माघी मनाउन हरेक वर्ष गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गरिँदै आएको थियो । विगत दुई वर्षदेखि कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण माघी पर्वको अवसरमा खासै मेला, महोत्सवको आयोजना गरिएको देखिँदैन ।

 

You might also like

Comments are closed.