मुगु । मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ । उनि आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइरहेका छन् ।
उनकी श्रीमती विगत पाँच वर्षदेखि दम रोगले थला परेकी छन् । ऋण सापट र वृद्धाभत्ता जोरजाम गरेर पहिलो पटक औषधि उपचार गर्न ललितपुर पाटन अस्पताल पुगेका शाही आर्थिक समस्यामा बल्झिएका हुन् । ऋण सापट गरिल्याएको पैसा काठमाडौं जाँदा बाटोमै सकिएपछि शाहीलाई श्रीमतीको उपचार गर्न सास्ती भएको हो ।
“पैसा छैन डाक्टरले यो औषधि किन्नु प¥यो त्यो औषधि किन्नु प¥यो भन्न थाल्छन्” शाहीले फोनमा कुरा गर्दै भने, “ऋण सापट गरिल्याएको पैसा सकियो, कसरी औषधि किनेर श्रीमतीलाई बचाऔँ ?” अस्पतालको शय्यामा श्रीमतीको मुख हेर्दै रुनुबाहेक अरू कुनै उपाय नभएको उनि सुनाउछन् ।
काठमाडौं उपत्यकामा श्रीमतीको औषधि उपचार तथा आफैँलाई बिहान–बेलुका छाक टार्नसमेत मुस्किल परेको शाहीले बताए । बिरामी श्रीमती बोकेर उनि गत मङ्सिर २३ गते घरबाट बाजुराको कोल्टी हँुदै नेपालगञ्ज पुगेका थिए । त्यहाँ केही दिन आफन्तको डेरामा बसेर शाहीले श्रीमतीको उपचार गराएका थिए ।
काठमाडौंमा छिटो र राम्रो उपचार हुन्छ भन्ने सुनेपछि शाही श्रीमतीसहित बस चढेर पुस अन्तिम साता काठमाडौं पुगेका हुन् । उनका आफन्तले पाटन अस्पतालमा श्रीमतीलाई भर्ना गरिदिए । आर्थिक अभावले उनको उपचार कठिन बन्दै गएको छ । पाटन अस्पतालको तीन तलामाथि आइसियुमा शाहीकी श्रीमती उपचाररत छन् । बाहिर ढोकामा शाही खर्च नहुँदा छट्पटाइरहेका छन् । काठमाडौं मै लामो समयदेखि ज्यालादारी काम गर्दै आएका शाहीका छोरीज्वाइँ पनि अहिले अस्पातलमै साथमा रहेका छन् । तर उनको पनि शाहीकै जस्तै अवस्था छ ।
आमाको अवस्था नाजुक हँुदै गएपछि छोरा बृजन पनि पाटन अस्पताल पुगेका छन् । “ऋण काढ्ने् कहिँकतै ठाउँ छैन, घरमा कोही जागिरे छैनन्, कृषि कर्म गरी जीवन निर्वाह गर्दै आएकाले उपचार खर्च जुटाउन सम्भव छैन”, बृजनले फोनमा भने । श्रीमती र आफ्नो सामाजिक सुरक्षा भत्ता जम्मा गरेर शाही काठमाडौं उपचार गर्न गएका हुन् ।
Comments are closed.