घर नजिकै स्वास्थ्य सेवा

जाजरकोट । एक वर्षअघि छेडागाड नगरपालिका–७ का रामबहादुर कामीको हात जङ्गलमा घाँस काट्दै गर्दा लडेर भाँच्चियो । उनि करिब ६ महिनाभन्दा बढी हिँड्न नसक्ने अवस्थामा पुगे ।

उनले छोरा र श्रीमतीको सहारामा शौचालय जानेदेखि व्यक्तिगत सरसफाइको काम गरे । आर्थिक अवस्था कमजोर र नजिकै स्वास्थ्य संस्था नभएका कारण उपचार गर्न नगई घरमै थलिएको उनले बताए । नेपालगञ्ज, सुर्खेत र जाजरकोट सदरमुकाम जान मात्र हजारौँ रकम खर्च गर्नुपर्छ । आफूसँग गाडी भाडासम्म जुटाउने अवस्था नभएका कारण घाइते शरीर छ महिनासम्म घरमै थलिएर बसेको उनले व्यथा सुनाए । घरकै स्थानीय जातको जडीबुटीको सहारामा उपचार गरी अहिले भित्र, बाहिर आफैँ हिँडनसक्ने भएको उनले राससलाई बताए ।

“वर्ष दिनअघि लडेर घाइते भए । अहिले म नजिकै अस्पताल निर्माण भएपछि विस्तार त्यहाँ गएर औषधि ल्याएर खाने गरेको छु” उनले भने, “छेडागाड नगरपालिकाले तन्नेरी चिकित्सक ल्याई अस्पतालको सेवा सञ्चालनमा ल्याएको छ, अहिले त्यही गएर निःशुल्क जाँच, उपचार गरिरहेको छु । कहिलेकाहीँ घर पुग्न टाढा भएकाले त्यहाँका कार्यालय सहयोगीलाइ घर पु¥याइदेऊ भन्छु, मोटरसाइकलमा राखेर घरसम्म पु¥याइदिन्छन् ।” कामीजस्तै दूरदराजमा अर्थावस्था कमजोर भएर अस्पतालको मुख देख्न नपाएका बिरामी अहिले थलहमा रहेको अस्पतालमा आएर निःशुल्क उपचार गर्न पाउँदा खुशी भएको बताउँदै आएका छन् । सरकारले प्रत्येक पालिकामा १५ शय्याको अस्पताल बनाउने योजनाअनुसार छेडागाडमा अस्पताल बनाएको हो ।

अस्पताल बनाएसँगै यहाँका सर्वसाधारण घर नजिकै उपचार पाउँदा निकै खुशी छन् । दैनिक ६० भन्दा बढी बिरामी उपचारका लागि आउने नगरप्रमुख लालबहादुर महताराले जानकारी दिए । उनले भने, “अस्पतालमा नसोचेकै सङ्ख्यामा बिरामी आउँछन्, नगरपालिकाले औषधिका लागि छुट्याएको बजेट नपुगेर व्यवस्थापनमा हामीलाई हैरानी भएको छ ।” अस्पताल स्थापना भएसँगै अहिलेसम्म करिब ७०० भन्दा बढीले उपचार सेवा लिइसकेको बताएको छ । प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थामा उपचार सम्भव नभएका बिरामीलाई अस्पतालमा सिफारिस गरिँदै आएको छ ।

यसैबीच उहाँ उपचार सम्भव नभएका पाँच गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पतालमा लगेर ज्यान जोगाएको स्वास्थ्यकर्मी रामबहादुर थापाले जानकारी दिए । उनका अनुसार दुर्गम भएकाले उपचार गर्दागर्दै केही नयाँ जानकारी लिन खोज्दा कहिलेकाहीँ समस्य हुने गरेको छ । त्यस्तै नगरपालिकाले जटिल खालका बिरामी आफ्नै एम्बुलेन्समार्फत सेवा दिएर सुविधा सम्पन्न ठाउँमा पु¥याई सेवा दिने गरेको छ ।

पश्चिम जाजरकोटमा भरपर्दो स्वास्थ्य संस्था नहुँदा यहाँका स्थानीयवासी अर्थाभावकै कारण अधिकांशले रोग पालेर बस्ने गरेको पाइएको चिकित्सक बताउँछन् । महिलामा बढी समस्या भएको तर लाजका कारण उपचार गर्न आउन नमान्दा अर्को समस्या थपिएको छ । पुरुष स्वास्थ्यकर्मीसँग महिला बिरामीले सजिलै आफ्ना कुरा राख्न नसक्दा उपचार दिन मुस्किल भएको पाइएको हो । जिल्ला अस्पतालमा १५ महिलाको पाठेघरको समस्या भएर उपचार गर्दा सबैले लाजका कारण रोग लुकाएर बसेको बताएका थिए ।

तीमध्ये चार छेडागाडकै रहेको स्वास्थ्य सेवा कार्यालयले बताएको छ । प्रभावकारी फोन सेवादेखि सडक यातायात नहुँदा मुस्किलको जीवन बिताएका स्थानीयवासी अहिले टेलिफोन टावर र गाउँगाउँमा सडक पुग्दा सबै सहज भएको वडा नं १२ का चन्द्रप्रकाश खत्रीले जानकारी दिए ।

सडक, विद्युत्, स्वास्थ्य र शिक्षा क्षेत्रमा विकास भएसँगै आम नागरिकको चेतनामा वृद्धिसमेत भएको छेडागाडका प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिए । सामान्य कुरादेखि जटिल खालका समस्या समाधानका लागि स्थानीयवासीसँग भर पर्ने गरेको उनको भनाइ छ । हेमन्त केसी÷रासस

You might also like

Comments are closed.