तेजाब वा घातक रसायन खरीदमा कडाइ

काठमाडौं । औद्योगिक प्रयोजनका लागि तेजाब तथा अन्य घातक रासायनिक पदार्थको आयातमा सरकारले कडाइ गर्न थालेको छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)अध्यादेश २०७७ तथा तेजाब तथा अन्य घातक पदार्थ (नियमन) नियमावली २०७७ स्वीकृत भएसँगै कानूनी व्यवस्थाअनुरुप त्यसको आयात तथा प्रयोगमा कडाइ गर्न थालिएको हो ।

यसअघि फितलो कानूनी व्यवस्था भएकाले अनुगमनको अभावमा खुलमखुला बिक्री वितरण हुँदा अध्यादेशमार्फत कडा कानूनी व्यवस्थासहित त्यसलाई लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

सोही कानूनी व्यवस्थाअनुसार औद्योगिक प्रयोजनका लागि आ–आफ्नो उद्योगमा वार्षिक योजनाअनुसार के, कति परिमाणमा, केकस्तो रसायन आवश्यक पर्दछ सोको स्पष्ट विवरणसहित सात दिनभित्र शाखामा आइपुग्ने गरी विवरण पेश गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिक्री वितरण, प्रयोग तथा विसर्जन कार्यलाई नियमनका लागि उक्त व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले गएको असोज १२ गतेको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ तथा यही १६ गते नेपाल सरकारबाट तेजाब तथा अन्य घातक पदार्थ ९नियमन० नियमावली २०७७ स्वीकृत गरिसकेको छ ।

उक्त नियमावलीमा खास प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थ औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने परिमाणसम्मका लागि सम्बन्धित उद्योगलाई मात्र अनुमतिपत्र दिन सकिने व्यवस्था छ ।

नियमावलीको नियम ६ (२) मा प्रचलित कानूनबमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको कुनै पनि उद्योगलाई औद्योगिक प्रयोजनका लागि तेजाब तथा अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भएमा अध्यादेशको दफा १४ को उपदफा ४ बमोजिम पूर्व स्वीकृतिका लागि अनुसूची ८ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिनुपर्ने उल्लेख छ । विवरणमा आवश्यक पर्ने रसायनको नाम, रसायन सङ्केत र आवश्यक वार्षिक परिमाण उल्लेख गर्नुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.