पर्यटकले खचाखच रानीकोटदेखि नगरकोट : न मास्क, न त भौतिक दुरी

रमेश गिरी/भक्तपुर । कोरोना भाइरस सङ्क्रमणको दोश्रो लहरको जोखिम बढेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ । सरकारले सकेसम्म भीडभाड नगर्न र मास्क लगाउन पनि अनिवार्य गरिरहेको छ । तर, भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म नेपालीले नयाँ वर्ष मनाउनमा मस्तसँग रमाएका छन् । मानौ, त्यस क्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको त्रास शून्यमै झरिसकेको छ भन्ने यहाँको भीडभाडले देखाएको छ ।

नयाँ वर्ष मनाउन भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले भरिएका छन् । यहाँका अधिकांश होटलहरु आन्तरिक पर्यटकले भरिएका छन् । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण भएको बन्दाबन्दीले गत वर्षको नयाँ वर्षमा सुनसान बनेका भक्तपुरका पर्यटकीयस्थल यो नयाँ वर्षमा भने आन्तरिक पर्यटकले खचाखच भएका हुन् ।

नयाँ वर्ष–२०७८ मनाउनका लागि मङ्गलबारदेखि नै भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्मका होटलहरु आन्तरिक पर्यटकले भरिएका छन् । नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्नेको आज बिहान भीड लागेको थियो । मङ्गलबार साँझ रानीकोट गएकाले होटलमा बसेर रातभरि नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचोले होटल पाउनै मुस्किल परेको थियो ।

समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछे«, गौरीशङ्कर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताए ।

सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको बताउँदै उहाँले कोरोना भाइरसको महामारीको बीचमा पनि यो नयाँ वर्ष २०७८ को उत्साह उमङ्ग स्वदेशी पर्यटकले थपेकोे उहाँको भनाइ छ । नेपाली नयाँ वर्ष २०७७ सुनसान बनेको पर्यटकीय क्षेत्र २०७८ को नयाँ वर्षमा चलायमान बनेको बताउँदै होटल व्यवसायी बकेँले भन्नुभयो, “रानीकोट ऐतिहासिकरुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि पनि उपयुक्त स्थान हो । १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँ वर्षमा आन्तरिक पर्यटक खचाखच भएको छ । कोरोनाको बाबजुद पनि यस वर्ष आन्तरिक पर्यटकको घुइँचो लागेको देखेर पर्यटन व्यवसाय पुनः चलायमान हुने आशा पलाएको छ ।”

रानीकोटमा ठूला चार वटा घ्याम्पे डाँडाका चार वटा होटल नयाँ वर्षका लागि १० दिनअघिदेखि नै बुक भएका थिए । होटलमा कोठा बुक नगरी गएका आन्तरिक पर्यटकका लागि होटलमा कोठा नपाएपछि होटल बाहिर चौरमा टेण्ड टाँगेरसमेत राखिएको थियो । धेरै आन्तरिक पर्यटकले रानीकोटबाट नयाँ वर्षको स्वागत गरेका छन् । रानीकोटमा रु १६ करोडको लागतमा भिलेज हाइल्याण्ड रिसोर्ट होटल सञ्चालनमा आएलगत्तै कोरोनाका कारण बन्द गर्नु परे पनि अहिले भने पुनः आशा जगाएको बकेँले बताए । आफ्नो होटल सात दिन अघिदेखि नै बुक भएकाले कतिपय आउन चाहने स्वदेशी पर्यटकलाई पनि ठाउँ दिन नसकेर अन्य होटलमा पठाउनुपरेको भन्दै उहाँले आज पनि होटलमा आन्तरिक पर्यटकले भरिएको बताए ।

भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी पर्यटकले भरिएको छ । लकडाउनका कारण गत वर्ष सुनसान बनेका यहाँका होटल यस वर्ष आन्तरिक पर्यटकले नै भरिएका छन् । हिजो बेलुका बास बसेर आज बिहान सूर्योदयसँगै हिमाली दृश्य हेर्ने आन्तरिक पर्यटकले नै यहाँका सबै होटल भरिएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।

हरेक नयाँ वर्ष विदेशी पर्यटकले भरिने र स्वदेशीले पर्यटकले ठाउँ नपाउने अवस्था आउने गरे पनि यस वर्ष भने आन्तरिक पर्यटकले नै यहाँका सबै होटल भरिँदा होटल व्यवसायी उत्साहित भएको उनले बताउनुभयो । कोरोनाका कारण गत चैतदेखि नै बन्द रहेका नगरकोटका सानादेखि ठूला होटल धमाधम केही महिनायता खुल्न थालेका थिए । कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी भएपछि रित्तिएका यहाँका होटल नयाँ वर्ष २०७७ मा पहिलोपटक खाली भए पनि नयाँ वर्ष २०७८ मा भने खचाखच भएका पर्यटन व्यवसायी एवं नगरकोट बसपार्कमा रहेको होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछाने बताए ।

“मैले होटल क्षेत्रमा काम गरेको २० वर्षको अवधिमा २०७७ को नयाँ वर्षमा सबै होटल सुनसान भएको पहिलोपटक हो, हरेक नयाँ वर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन्थे, सबै होटल भरिन्थे”, होटल व्यवसायी लामिछानेले भने, “तर यस वर्ष पहिलोपटक विदेशी पर्यटक नहुँदा पनि नेपाली पर्यटकले नै २०७८ को नयाँ वर्षमा होटल खचाखच भरिए आन्तरिक पर्यटकको आगमनले पर्यटन क्षेत्रमा पुनः आशा पलाएको छ ।” उनले अधिकांश होटलमा ९० प्रतिशत आन्तरिक पर्यटकको आगमन भएको बताए ।

विसं २०७७ को अन्तिम दिनलाई बिदाइ गर्न र २०७८ को पहिलो दिनको सूर्योदयलाई स्वागत गर्ने यस वर्ष विदेशी पर्यटन नभए पनि स्वदेशी पर्यटकको आकर्षण र आगमन बढेपछि ओरालो लागेको पर्यटन व्यवसायमा आशा पलाएको व्यवसायी बताउँछन् । आज वैशाख १ गते पनि पर्यटकको आगमन बढेको र अधिकांश होटल बुक भएको व्यवसायी बताउँछन् ।

You might also like

Comments are closed.