पर्यटनमैत्री कानून र पूर्वाधार विकासमा जोड

काठमाडौं । मुलुकको अर्थतन्त्रको प्रमुख प्राथमिकतायुक्त क्षेत्रका रुपमा रहेको पर्यटन क्षेत्रको बृहतर विकास तथा वर्तमान कोभिड–१९ महामारीबाट सुरक्षित पर्यटकीय गतिविधि सञ्चालनका लागि नीतिगत सुधार तथा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा बोल्ने अधिकांश सांसदले विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण क्षेत्र पर्यटनको रणनीतिक कार्ययोजना तथा दिगो पर्यटन विकासका लागि पर्यटनमैत्री नीतिगत व्यवस्थाका साथै पर्यटकीय पूर्वाधार विकासका साथै सेवा क्षेत्रलाई एकद्धार प्रणालीबाट सरलीकृत गरिनुपर्ने औँल्याए ।

साथै उनिहरुले मुलुकको समग्र पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डलगायत अन्तरनिकाय संस्थालाई आर्थिक रुपमा आत्मनिर्भर बनाएर पूर्ण क्षमताका साथ परिचालन गर्न आवश्यक व्यवस्थापनका लागि सरोकारवाला मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद दिव्यमणिराज भण्डारीले पर्यटन क्षेत्र अर्थोपार्जनका निम्ति मात्र नभई देशको पहिचान र इज्जतसँग जोडिएको विषय भएकाले पर्यटनमैत्री नीति र पूर्वाधार विकासका साथै पर्यटकीय सेवालाई एकद्धार प्रणालीबाट सेवा दिएर सरलीकृत गर्दै लैजानुपर्ने बताए ।

jutta mela

सांसद रेणुका गुरुङले आर्थिक स्रोतको प्रमुख आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि स्थापित बोर्डलाई आर्थिक रुपमा समृद्ध बनाइ काम कारवाहीलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिइन् । सांसद पुष्पा भुसाल गौतमले थोरै लगानीबाट तत्कालै लाभ लिन सकिने तथा बढीभन्दा बढी रोजगारी सिर्जना हुने पर्यटन क्षेत्रलाई सरकारले बजेट व्यवस्थापनका साथै जनशक्ति र स्रोत साधनलाई चुस्त दुरुस्त बनाइनुपर्ने खाँचो औँल्याइन् ।

सांसद सुजिता शाक्यले बोर्डले प्राथमिकतायुक्त पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रवद्र्धनका निम्ति बजेट व्यवस्थापन गर्न जरुरी रहेको बताइन् । सांसद नारदमुनी रानाले महामारीलाई मध्यनजर गर्दै विदेशी पर्यटकलाई स्वास्थ्य मापदण्ड परिपालना गराउन सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए ।

सांसद पुष्पाकुमारी कर्ण कायस्थ, चाँद तारा कुमारीलगायतले छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन प्रवद्र्धनात्मक रणनीति अख्तियार गरिनुपर्नेमा जोड दिए । समितिका सभापति पवित्रा निरौला (खरेल) ले पर्यटनमैत्री कानून तथा बजेट व्यवस्थापनका सम्बन्धमा सम्बन्धित मन्त्रालयसँग आफूले चरणबद्ध छलफल गरेको समितिलाई जानकारी गराउँदै पर्यटकीय पूर्वाधार विकास, अन्तर निकायबीचको समन्वयलाई प्रभावकारी बनाएर धेरै सङ्ख्यामा विदेशी पर्यटक भित्र्याउने वातावरण बनाउन लाग्नुपर्ने बताइन् ।

उनले हिमाल, पहाड र तराई क्षेत्रको पर्यटनलाई तीन तहका सरकारबीचको समन्वय तथा साझेदारीमा पूर्वाधार विकास, गन्तव्य प्रवद्र्धन गरिनुपर्नेमा जोड दिइन् । सात प्रदेशमा कम्तीमा सात पर्यटकीय गन्तव्य स्थापित गर्न तथा यसअघि घोषणा गरिएका एक सय पर्यटकीय गन्तव्यलाई स्थानीय तहसँगको साझेदारीमा अघि बढाइनुपर्नेमा जोड दिए ।

सभापति निरौलाले पर्यटन क्षेत्रमा गरिनुपर्ने तत्कालीन सुधारबारे बुँदागत रुपमा ल्याउन बोर्डलाई निर्देशन दिँदै यस सन्दर्भमा समितिले सरकारलाई आवश्यक निर्देशन दिने बताए । समितिले आज पर्यटन बोर्डसँग भएको छलफललाई निरन्तरता दिई आगामी बैठकबाट थप निर्णय लिने सभापति निरौलाले जानकारी गराए । बार्ड तथा सरोकारवाला मन्त्रालयसँग भिन्नै छलफल गरेर समितिले आवश्यक निर्णय र निर्देशन दिने उनले बताए ।

बैठकमा बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले, ‘आजको पर्यटनः अवसर र चुनौति’ बारे प्रस्तुतीकरण दिँदै कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको पर्यटन क्षेत्रलाई स्वास्थ्य सावधानीका साथ चलायमान बनाउन पर्यटनमैत्री कानूनका साथै आवश्यक बजेट व्यवस्थापन गरिनुपर्नेमा जोड दिए । उनले महामारीबाट विश्वव्यापी रुपमा ८० देखि ९० प्रतिशत पर्यटन क्षेत्रमा असर गरेको र नेपालमा पनि करिब ८० प्रतिशत पर्यटक आगमन दर घटेको सन्दर्भमा विदेशी पर्यटक तत्कालै नबढ्ने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धनमा रणनीतिक कार्ययोजनका साथ लाग्नु उपयुक्त हुने धारणा राखे ।

विश्व पर्यटनबाट कूल गार्हस्थ उत्पादन ९जिडिपी० मा झण्डै १० प्रतिशत योगदान हुने गरेको तर नेपालको प्रमुख तीनखम्मे अर्थनीतिको एक पर्यटन क्षेत्रबाट करिब तीन प्रतिशत मात्रै योगदान रहनुमा तथ्याङ्क प्रणाली व्यवस्थित गरेर यसको गोगदान र महत्वलाई प्रभावकारी बनाइनुपर्नेमा उनले जोड दिए । पछिल्लो पाँच वर्षमा भारत, चीन, अमेरिकाबाट सर्वाधिक सङ्ख्यामा पर्यटक आएका र हालको महामारीकै बीच सन् २०२० र २०२१ को शुरुआती तीन महिनामा पनि यी तीन मुलुकबाट बढी पर्यटक आएकाले पर्यटन प्रवद्र्धनका गतिविधि पनि लक्षित मुलुक र गन्तव्यमा केन्द्रित गरिनुका साथै आन्तरिक पर्यटन विकासलाई प्राथमिकता दिइनुपर्ने उनले बताए ।

समितिको बैठकमा विविध विषयअन्तर्गत समिति मातहत बनेका विभिन्न ‘डेस्क’ को रिपोर्टिङ गरिएको थियो । त्यसअन्तर्गत नागरिक उड्डयन तथा युरोपेली मुलुकको डेस्क हेर्ने संयोजक दिव्यमणिराज भण्डारी तथा उत्तर अमेरिका, दक्षिण अमेरिका र क्यानाडा डेस्ककातर्फबाट रेणुका गुरुङले हालसम्मका गतिविधिबारे समितिलाई जानकारी गराएका थिए ।

You might also like

Comments are closed.