राजकुमार पराजुली/काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधाराको पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माणार्थ खटिएको १५० दिन नाँघिसक्यो । नमूना तामाङ बस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उनि जनश्रमदानमा जुट्छिन् ।
अहिले पञ्चकुमारीसँगै गाउँका महिला–पुरुष दिनहँु नमूना बस्तीमा सकेको काम गर्दै आएका छन् । “गाउँमा चिटिक्कका घर एकै ठाउँमा बनाएर बस्ने, पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले आफैँ काम गर्न आउँछौँ”, पञ्चकुमारीले भनिन् । उनले आफूलाई भूकम्पपीडितवापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको रु ५० हजार पनि तीन वर्षअघि नै सोही बस्ती निर्माणमा दिएकी थिइन् ।
त्यसपछि सरकारसँग सम्झौता गरी यहाँको मण्डनदेउपुरस्थित तीनधारका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने ‘कारितास्’ नामक संस्थाले बाँकी किस्ता नदिएपछि ऋण लिएर स्थानीयवासीले बस्ती निर्माणलाई निरन्तरता दिइरहेका थिए ।
हाल सरकारी निकायबाट विभिन्न शीर्षकमा रु एक करोड ४० लाख रकम निकासा हुँदा ऋणले थलिएका तीनधारका बासिन्दामा खुशीयाली छाएको छ । “हालै मात्र रकम निकासा भएको छ, अब ऋण तिर्छौं, सहयोग र अनुदान तथा श्रमदानले जसरी पनि बस्ती निर्माण सक्नेछौँ”, बस्ती निर्माणका परिकल्पनाकार स्थानीय रामबहादुर तामाङले भने । उनका अनुसार पटकपटक रु ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको थियो ।
तामाङले सरकारबाट प्राप्त हुने आवास निर्माणको रकम आएपछि तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले घरवाससहितको नमूना तामाङ बस्तीको परिकल्पना गरिएको बताए । “कारितास्ले पहिलो किस्ता दिएर लथालिङ्ग छाडेर हिँड्यो, तर पनि हामीले सरकारबाट बाँकी किस्ता नआउञ्जेल ऋण गरेर काम सञ्चालन ग¥यौँ”, उनले भने ।
तामाङका अनुसार हप्ता दिनअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण (आवास)मार्फत रु ६५ लाख रकम निकासा भयो । आवास निर्माण अनुदानको बाँकी रकमबापत एकमुष्ट रु ७५ लाख पनि हालै मात्रै निकासा भएको छ । यसअनुसार तीनधारका भूकम्पपीडितमा पुनःनिर्माण प्राधिकरणबाट भूकम्पको छ वर्षपछि आवास अनुदान रकम निकासा भएको देखिन्छ ।
स्थानीय युवा विरेश तामाङको दैनिकी पनि बस्ती निर्माणमा सकेजानेको काममा बितिरहेको छ । उनि भन्छन्, “हामी जनश्रमदानमा जुटेको पनि १५० दिनजति भइसक्यो, अब रकम निकास भएपछि धेरै दिन गर्नु नपर्ला, सुन्दर बस्ती बनाउने योजनामा सबैले भरपुर साथ दिइरहेका छौँ ।” उनि स्थानीय भूकम्पपीडितलाई आवास निर्माणका लागि कारितास् नामक संस्थाले सरकारसँग सम्झौता गरी करीब तीन वर्षअघि पहिलो किस्ताको रु ५० हजार दिएको र अन्य किस्ताका लागि समन्वय नगर्दा ऋण गरेर निर्माणलाई निरन्तरता दिनुपरेको बताउछन् ।
बस्ती निर्माणका लागि स्थानीय ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको रु ५० हजार खर्चिएको थियो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका परामर्शदाता राजकुमार कुँवरले तीनधाराका भूकम्पपीडितका लागि बाँकी दुई किस्ता अनुदान सरकारमार्फत निकासा भइसकेको बताए । “विनियोजित रकम सम्झौताअनुसार क्रमैसँग आउनेछ”, उनले भने । भूकम्पपीडित परिवारको थप किस्तासँगै नमूना बस्ती निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भने रु एक करोड २० लाख बजेट विनियोजन गरेको थियो ।
मण्डनदेउपुर–१० स्थित चण्डेनी तीनधारामा तीन वर्ष पहिले स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले घरबाससहितको नमूना तामाङ बस्ती निर्माण थालिएको थियो । हाल बस्तीका लागि १२ घरको छानो लगाउने काम सकिएको छ भने चार घर छाउने तयारीमा छ । तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण सम्पन्न गर्न जनश्रमदानबाहेक रु ११ लाख लाग्ने बस्ती निर्माण समितिका अध्यक्ष आइतमान तामाङले जानकारी दिए ।
उनका अनुसार नगर कार्यालयले रु १० लाख थप सहयोग गरेको छ । बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य घरवासका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्नेछ । नमूना बस्तीमा एक सामुदायिक भवन निर्माण भइरहेको छ । सामुदायिक भवन निर्माणका लागि रु ४० लाख छुट्याइएको छ । सामुदायिक भवनमा विवाह, ब्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङ्ग्रोलगायतका सामग्री सङ्ग्रहीत गरिने तथा यसबारे जानकारीसमेत दिइने योजना बनाइएको छ ।
योजना अनुसार बस्तीका बीचमा बगैँचा बन्नेछ । घरबासमा आउने पाहुनाका लागि तामाङ समुदायको ‘टिपिकल’ खाना खुवाइनेछ । छ घरको एक ब्लक बनाई छुट्टाछुट्टै पाँच ब्लकमा ३० घर बनाइने भएको हो । नयाँ वर्षको शुरुआतसँगै वैशाख पहिलो साता रकम निकासा भएपछि अबको तीन महीनामा नमूना बस्ती निर्माणको काम सम्पन्न हुने बताइएको छ ।
Comments are closed.