दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घले कोभिड–१९ को न्यूनीकरण र व्यवस्थापनका लागि रु तीन लाख पाँच हजारको कोष स्थापना गरेको छ । सङ्घको पदाधिकारी बैठकले विभिन्न बजार एकाइ समिति, महिला उद्यमी विकास समितिको संयुक्त प्रयासमा उक्त कोष स्थापना गरेको हो ।
महाविपत्तिको घडीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, निजामती कर्मचारी, स्वयंसेवीलगायत सबैको उत्साह, आत्मबल र सेवाको भावना अभिवृद्धि गर्न, सामूहिक आइसोलेशनकक्ष निर्माण तथा स्वास्थ्य सामग्री व्यवस्थापनका लागि उक्त कोष स्थापना गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । कोषमा सहयोग गरिदिन सङ्घले उद्योगी व्यवसायी, देश तथा विदेशमा रहेका शुभचिन्तक, विभिन्न सङ्घसंस्थालाई आग्रह गरेको छ ।
सङ्घले सङ्कटको घडीमा अत्यावश्यक सामग्रीको सहज तथा सुलभ बिक्री वितरण र बजार व्यवस्थापनप्रति प्रतिबद्ध रहेको जनाएको छ । सम्पूर्ण उद्योगी व्यवसायीबाट अत्यावश्यक वस्तुको ढुवानी तथा बिक्री वितरणमा सकारात्मक भूमिका निर्वाह भएको अवस्थामा सम्पूर्ण व्यवसायी महामारी निराकरणका लागि सहयोग गर्न तत्पर रहेको जनाएको छ ।
सङ्घले खडा गरेको कोषमा सहयोग रकम जुट्न थालेको छ । सङ्घले बुधबार स्थापना गरेको कोषमा जिल्लाका व्यवसायीले सहयोग थालेका हुन् । सङ्घका अध्यक्ष श्रेष्ठका अनुसार कोभिड व्यवस्थापन महाअभियानका लागि सङ्घका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठबाट रु १० हजार ७२६, व्यास–३ निवासी व्यवसायी बानेश्वर मल्लबाट रु १० हजार १००, व्यास–३ निवासी पुस्तक व्यवसायी सुमन भट्टराईले रु १० हजार ५०० र व्यास–२ निवासी वीर बस्यालबाट रु पाँच हजार ५५५ प्राप्त भएको छ ।
Comments are closed.