नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक आर्थिक र विकास साझेदारी सुदृढ गर्ने सहमति

काठमाडौं ।  आज बसेको नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठकमा आर्थिक र विकास साझेदारी सुदृढ गर्ने सहमति भएको छ ।

होटेल याक एन्ड यतीमा सोमबार भएको बैठकमा दुई देश तथा समग्र क्षेत्रकै हितका लागि आर्थिक तथा विकास साझेदारी थप सुदृढ गर्ने सहमति भएको भारतीय राजदूतावासले ट्विटरमार्फत जानकारी दिएको छ ।

ट्विटरमा भनिएको छ, ‘ विदेश सचिव श्री विनय क्वात्राले वहाँको नेपाली समकक्षी श्री भारतराज पौड्यालसँग भेट गरी भारत–नेपाल सहकार्यका व्यापक पक्षको समीक्षा गर्नुभयो ।दुई देश र समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहकार्यलाई थप सुदृढ गर्न दुवै पक्ष सहमत भए ।’

परराष्ट्रसचिव भरतराज पौड्याल र भारतीय समकक्षी विनयमोहन क्वात्राले क्रमशः नेपाल र भारतका प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

दुईदिने औपचारिक भ्रमणका क्रममा भारतीय विदेश सचिव  विनय  क्वात्रा सोमबार बिहान काठमाडौं आएका हुन् । विदेशसचिव क्वात्रा प्रधानमन्त्री प्रचण्डलाई भारतको औपचारिक भ्रमणका लागि औपचारिक निमन्त्रणा दिन र द्विपक्षीय विषयमा कुराकानी गर्न नेपाल आएका हुन्।

क्वात्रासँगै भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान हेर्ने डिभिजनका सहसचिव अनुराग श्रीवास्वसहितका अधिकारी पनि आएका छन्।बैठकमा परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख रामप्रसाद सुवेदीसहितका अधिकारी सहभागी थिए।

क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग शिष्टाचार भेट गर्ने तय भएको छ।

 

 

You might also like

Comments are closed.