काठमाडौं । अब फेसबुक र इन्स्टाग्राममा ब्लू टिक पाउन पैसा तिर्नुपर्ने भएको छ । मेटा कम्पनीले आफ्नो नयाँ सशुल्क भेरिफिकेसन सब्सक्रिप्सन सेवाको घोषणा गरेको छ । सीइओ मार्क जुकरबर्गले आइतबार मेटा भेरिफाइड नामक नयाँ सेवाको घोषणा गरेका हुन् ।
जुकरबर्गका अनुसार अब इन्स्टाग्राम र फेसबुकको अकाउन्ट भेरिफिकेसनका लागि वेब भर्सनमा मासिक ११.९९ डलर र आइओएसमा १४.९९ डलर शुल्क तिर्नुपर्नेछ ।
जुकरबर्गका अनुसार फेसबुक र इन्स्टाग्राममा सशुल्क भेरिफिकेसन फिचर यहीँ हप्ता अष्ट्रेलिया र न्युजिल्याण्डमा सुरु गरिनेछ । निकट भविष्यमै अन्य देशहरुमा पनि सशुल्क भेरिफिकेसन सब्सक्रिप्सन सुरु गरिने जुकरबर्गको भनाई छ ।
मेटाले राजनेता, कार्यकारीहरु, पत्रकार तथा संगठनका सदस्यहरु आदिलाई उनीहरुको वैधताको संकेत प्रदान गर्नका लागि हाल निशुल्क रुपमा भेरिफिकेसन ब्याजका रपमा निलो टिक प्रदान गर्ने गरेको छ।
फेसबुक र इन्स्टाग्राममा सुरु गर्ने सशुल्क भेरिफिकेसन फिचरले आफ्ना सेवाहरुको आधिकारिकता र सुरक्षामा वृद्धि गर्ने जुकरबर्गले बताएका छन् ।मेटाको भेरिफाइड सब्सक्रिप्सन प्राप्त गर्नका लागि प्रयोगकर्ताको उमेर न्यूनतम १८ वर्ष हुनुपर्ने, अकाउन्टको गतिविधि सम्बन्धी न्यूनतम मापदण्डहरु पूरा गर्नुपर्ने र प्रोफाइल नाम र फोटोसँग मेल खाने सरकारी परिचयपत्र पेश गर्नुपर्नेछ ।
मेटाको नयाँ सब्सक्रिप्सन सर्भिस ट्वीटरको नयाँ सशुल्क ट्वीटर ब्लू फिचरजस्तै रहेको छ । ट्वीटरले गत नोभेम्बरमा ट्वीटर ब्लू सब्सक्रिप्सन सर्भिस सुरु गरेमा डिसेम्बरदेखि केही सुधारसहित पुनः लागू गरेको हो । एजेन्सी
Comments are closed.