कृत्रिम अभाव सृजना गरेको गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता

सिन्धुली । सिन्धुलीमाढीका बजारमा दैनिक खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बजार अनुगमनलाई तीव्रता दिएको छ । बजारमा तेल, चिनी, चामललगायतका खाद्यवस्तुको मूल्य बढेको, कृत्रिम अभाव सिर्जना गरेको गुनासो उपभोक्ताले गरेपछि अनुगमन गरिएको हो ।

प्रशासनले गरेको अनुगमनका क्रममा कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा रहेको कमला सप्लायर्सका सञ्चालक जयकुमार दासलाई कारवाही गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । यस्तै अनुगमन टोलीले ४५० बोरा चामल जफत गरी फिर्ता पठाएको छ । कमलामाई नगरपालिका–६ रातमाटामा रहेको गुप्ता खाद्यान्न भण्डारबाट उत्पादित मिति, ब्याज नम्बर र उपभोग्य मितिसमेत उल्लेख नभएको चामल जफत गरी फिर्ता पठाएको हो ।

कोभिड–१९ नयाँ भेरिएन्टको सङ्क्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय जारी गरेको निषेधाज्ञामा व्यापारीहरुले खानेतेल र चिनीमा मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना गरेको गुनासो आएपछि अनुगमन गरिएको थियो । शुक्रबार सिन्धुली जिल्लासहित रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा र सोलुखुम्बुलगायत जिल्लामा खाद्यान्न ढुवानी गर्दै अएका आपूर्तिकर्ताहरुमा अनुगमन गरिएको थियो । हरेक सप्लायर्समा फरक÷फरक मूल्य पाइएकाले मूल्यमा एकरुपता ल्याउन छलफल गरिएको प्रजिअ न्यौपानेले जानकारी दिए ।

jutta mela

जिल्ला प्रशासन कार्यालयले सामग्री लुकाई बजारमा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारवाही गर्ने जनाएको छ । निषेधाज्ञाको समयमा मूल्य बढाउने, सामान लुकाउनेजस्ता कार्य हुनसक्ने भएकाले बजार अनुगमनलाई तीव्रता दिई कालोबजारी नियन्त्रण र मौज्दातको अवस्था बुझी कारवाही गर्ने जनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय सिन्धुलीले निषेधाज्ञा उल्लङ्घन गरी व्यवसाय सञ्चालन गर्ने २६ व्यवसायीलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ती व्यापारीलाई नियन्त्रणमा लिई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पठाएको जिप्रका सिन्धुलीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा १५ मरिण गाउँपालिका र ११ कमलामाई नगरपालिका सदुरमुकाम क्षेत्रका व्यापारी रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहान ७ देखि १० बजेसम्म अत्यावश्यक सेवा प्रवाह गर्ने व्यापारीलाई व्यवसाय सञ्चालन गर्न समय दिएको छ । निषेधाज्ञाको अवज्ञा गर्दै होटल तथा अन्य व्यवसाय सञ्चालन गरी मानिसको भीडभाड गराउने कार्यमा तल्लीन रहेको पाइएकाले उनीहरुलाई नियन्त्रणमा लिई सङ्क्रमण रोग ऐन २०२० अनुसार कारवाहीका लागि पठाएको बताइएको छ ।

You might also like

Comments are closed.