विद्युतीय गाडी उत्पादन गर्न नेपाल र कोरियाली दुई कम्पनीबीच सम्झौता

काठमाडौं ।   विद्युतीय गाडी उत्पादन गर्न नेपालको कोसी एन के मोटर्स प्रालि र कोरियाली दुई कम्पनीबीच सम्झौता भएको छ ।

प्रदेश १ मा तीन अर्ब लागतमा उद्योग स्थापना गरी विद्युतीय गाडी उत्पादनका लागि कोरियाको एस.डी.के कम्पनी र नेपालको कोसी एन के मोटर्स प्रालिबीच सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनी एस.डी.केका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार उद्योग स्थापनाका लागि २५ प्रतिशत कोरियन कम्पनी र ७५ प्रतिशत नेपाली कम्पनीले लगानी गर्नेछ ।

एक वर्षपछि कोरियन प्रविधिमा आधारित विद्युतीय सवारीसाधन उत्पादन गर्ने लक्ष्य राखिएको कोसी एन के मोटर्स प्रालिका अध्यक्ष पुरीले जानकारी दिए । प्लान्ट राख्ने स्थान छनोटपछि एक वर्षभित्र उत्पादन गर्ने लक्ष्यसहित काम अगाडि बढाउने पुरीले बताए ।

उनका अनुसार उद्योग स्थापनाका लागि आउँदो मार्चमा कोरियन कम्पनीको प्रतिनिधिमण्डल नेपाल आउनेछ । सोही टोलीको अवलोकनपछि प्लान्ट राख्ने स्थान टुङ्गो लाग्नेछ ।

पहिलो चरणमा स्कुल कलेजका लागि विद्युतीय बस उत्पादन गर्ने लक्ष्य राखिएको पनि उनले बताए । त्यसपछि बिस्तारै साना गाडी उत्पादन गर्ने लक्ष्य राखिएको उनको धारणा रहेको छ ।

You might also like

Comments are closed.