माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको डाइभर्सन सुरुङ सम्पन्न

काठमाडौं ।  सुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ को जलविद्युत् आयोजनाको डाइभर्सन सुरुङ सम्पन्न भएको छ ।

रसुवाको आमाछोदिङ्मा गाउँपालिका-१, हाकुमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र पाँच मिटर व्यास भएको पूर्ण कङ्क्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको हो ।

सुरुङ निर्माण सम्पन्न भएपछि मङ्गलबारदेखि सोही सुरुङबाट नदी फर्काई बाँध निर्माण सुरु गरिएको आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइ हक युनले बताए ।

आयोजनाको समग्र भौतिक प्रगति १४ प्रतिशत रहेको छ । आयोजनाको मुख्य निर्माण २०७८ पुसदेखि सुरु गरिएको थियो । आयोजना निर्माणमा हाल करिब सात सय कामदार परिचालित छन् ।

रसुवामा  २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण हुुँदैछ । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली-१ हालसम्मकै ठूलो जलविद्युत् आयोजना हो ।

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् ।

 

lcci
You might also like

Comments are closed.