काठमाडौं । हिमालय एअरलाइन्स्ले चीनको कुनमिङबाट काठमाडौंतर्फ चार्टर्ड उडान सम्पन्न गरेको छ । एअरलाइन्स्ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थल (KMG)बाट बिहीबारदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान सेवा सुरू गरेको हो ।
हिमालय एअरलाइन्स्को H9 ७८५ एयरबस ए ३२०–२१४ ले आज १८० चिनियाँ पर्यटकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एअरलाइन्स्ले जनाएको छ । एअरलाएन्सले कुनमिङदेखि काठमाडौसम्मको आगामी चार्टर्ड उडानहरू मार्फत् थप ७०० यात्रुहरूलाई स्वागत गर्ने अपेक्षा राखेको छ ।
कोभिड–१९ महामारीसँग सम्बन्धित तीन वर्षको प्रतिबन्धपछि नेपालमा चिनियाँ पर्यटकको आगमन बढाउने उद्देश्यले चीनबाट नेपालमा नेपालकै पहिलो चार्टर्ड उडान सुरु गरी चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउनु एअरलाइन्स्काे महत्वपूर्ण र उल्लेखनीय कदम रहेको छ ।
एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले चार्टर्ड उडानलाई सफल तुल्याउन सहयोग गरेकोमा चीन र नेपाल सरकारका पदाधिकारीहरुलाई धन्यवाद दिँदै नेपाल र चीनबीचको दौत्य सम्बन्धलाई थप मजबुत बनाउने दिशामा यो महत्वपूर्ण कदम भएको बताए । उनले भने, “ यि दुई महत्वपूर्ण छिमेकी देशबीच यात्रुको आवागमनलाई सहज बनाउन पाएकोमा हामी गौरवान्वित छौं र आगामी दिनमा थप चिनियाँ गन्तव्यसँग यो सम्बन्धलाई बढाउने योजना बनाएका छौं । नेपालको पर्यटन तथा हवाई उद्योगलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ हिमालय एअरलाइन्स्ले राष्ट्रका लागि सदैव एक कदम अगाडि बढ्ने जमर्को गरेको छ । हामी हाम्रा यात्रुहरूका लागि सदैव उच्च सेवा प्रदान गर्न र हाम्रा यात्रुहरूका हवाईयात्रा अविस्मरणीय बनाउन प्रतिबद्ध छौं”, ।
Comments are closed.