नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । आजै मन्त्री साउदले मन्त्रालय पुगी पदभार सम्हालेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य साउद यसअघि २०७० सालमा सिँचाईमन्त्री र विसं २०५७ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री भएका थिए । कांग्रेस नेता साउँद विसं २०५६ र २०७० मा कञ्चरपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनि गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा कञ्चनपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको हुन् ।

विसं २०३६ मा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) सँग जोडिएर राजनीतिमा होमिएका उनि विसं २०४३ मा नेविसङ्घको उपसभापति हँुदै २०४८ सालमा केन्द्रीय सभापति भएका थिए । पिता खड्गसिंह साउद र माता कौशिल्यादेवी साउदको कोखबाट विसं २०१९ साउन २५ गते (सन् ९ अगष्ट, १९६२) डडेल्धुरामा जन्मिएका उनको स्थायी ठेगाना कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ हो ।

उनले भारत, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, संयुक्त अधिराज्य, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, फ्रान्स, जर्मनी, फिलिपिन्स, दक्षिण कोरिया, इजिप्ट, जापान, सिङ्गापुर, कतार, थाइल्याण्डलगायत देशको भ्रमण गरेका छन् ।

यसैगरी आजै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले राज्यमन्त्री चपाईंलाई शपथ गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) का नेता एवं राष्ट्रियसभा सदस्य चपाईंलाई प्रधानमन्त्री दाहालले आजै राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । आजै राज्यमन्त्री चपाईंले मन्त्रालय पुगी पदभार सम्हालेका छन् । रासस

 

You might also like

Comments are closed.