नवलपुर । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरले नवलपुरको देवचुली नगरपालिका ६ किर्तिपुरस्थित देउसत खेलामा निर्मित झोलुङ्गे पुल र चुहार गाउँमा निर्मित खानेपानीको उद्घाटन गरेका छन् ।
गण्डकी प्रदेश सरकारद्वारा ६५ लाखमा निर्मित किर्तिपुर–चुहार गाउँ जोड्ने झोलुङ्गे पुलसँगै चुहारगाउँमा सहमती संस्थाद्वारा निर्मित स्वामिघाट खानेपानीको मंगलबार मन्त्री गाहामगरले उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्नुहुदै मन्त्री गाहामगरले पुल र खानेपानीको निर्माणपछि चुहारबासीको केही समस्या हल भएको धारणा व्यक्त गरे ।
उनले चुहार गाउँमा कम बस्ती भएतापनि स्थानीयको समस्यालाई प्राथमिकताकामा राखेर पुल निर्माण गरिएको बताए ।
मन्त्री गाहामगरले पुल निर्माणभएपछि वर्षायामको समयमा चुहरबासी र विद्यार्थीहरुले सास्ती भोग्न नपर्ने विश्वास व्यक्त गरे । ‘यो देउसत खोलामा पुल नहुदा चुहारका विद्यार्थी भाईबहिनीहरुले वर्षायाममा पढ्न नपाइने अवस्था थियो, मन्त्री गाहामगरले भने, ‘त्यही समस्यालाई मध्यनजर गरेर पुल सम्पन्न भइसकेको छ । अब विद्यार्थीहरुले सास्ती खेप्न नपर्ने विश्वास लिएको छु ।’
उनले सहमती संस्था र डब्लु डब्लु एफले निर्माण गरेको खानेपानीले अब चुहार बासीको दैनिकी अर्थउपार्जनमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
मन्त्री गाहामगरले मगर समुदायको बस्ती रहेको सो गाउँमा सडक, खानेपानी तथा पुलको व्यवस्था भइसकेको बताउँदै यहि वर्षमा विद्युतको पहुँच पुग्ने बताए ।
यस्तै देवचुली नगरपालिका ६ का वडाध्यक्ष मिन बहादुर सोतीमगरले प्रदेश सरकारमा रहेर पिच सडक, झोलुङ्गे पुलका लागि भूमिका खेलेको भन्दै आन्तरिक मामिला तथा कानूनमन्त्रीप्रति आभार व्यक्त गरे । ‘यो ठाउँको विकासका लागि हाम्रो अग्रज अहिलेको आन्तरिक मामिलामन्त्री रोशन गाहामगरको ठुलो योगदान छ, सोतीमगरले भने, ‘किर्तिपुर आउने सडक कालोपत्रे, पुल निर्माण लगायत विभिन्न क्षेत्रमा उहाँको योगदान छ । त्यसैले हामी उहाँप्रति एकमदमै आभारी छौ ।’
वडाध्यक्ष सोतीमगरका अनुसार सो पुल प्रदेश सरकारको करिब ६५ लाख बजेटमा निर्माण गरिएको हो भने स्वामिघाट खानेपानी योजनामा सहमति संस्थाले करिब १२ लाख र स्थानीयले ४ लाखसहित श्रमदान दिएका थिए ।
सो पुल तथा स्वामिघाट खानेपानीको समुद्घाटन कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, उपप्रमुख पार्वता तिवारी, सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदी, सहमति संस्थाका इन्जिनियर तेज प्रसाद ओझा, सहमति संस्थाका कार्यक्रम संयोजक दिनेश बास्ताकोटी, देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्ले, जिल्ला खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुषाल, लगायतले बोलेका थिए ।
स्वामीघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मञ्जरी सिंजालीमगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन स्थानीय तिलक सोतीमगरले गरेका थिए ।
Comments are closed.