अपांगता भएका व्यक्तिहरूको समस्या प्रति संवेदनशिल भएर संवोधन गर्न अनुरोध

काठमाडौं । राष्ट्रिय शारीरिक अपांग संघ–नेपालको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिहरूले भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट) मा ध्यानाकर्षणपत्र बुझाएका छन् ।

राष्ट्रिय शारीरिक अपांग संघ–नेपालका अध्यक्ष किरण शिल्पकारले भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठलाई एक ध्यानाकर्षणपत्र बुझाउँदै भूकम्पमा अपाङ्गता भएका व्यक्तिहरू वढि जोखिममा पर्ने हुनाले अपाङ्गता भएका व्यक्तिहरूको समस्या प्रति संवेदनशिल भएर संवोधन गर्नका लागि अनुरोध गरे ।

ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका मुख्य कुराहरूमा अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६, अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ तथा नियमावली २०७७, अपांगता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ को कार्यान्वयनका लागि सम्बन्धित निकायमा सिफारिस गर्नुपर्ने बताइएको छ ।

यस्तै, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी ऐन, नियमावली, निर्देशिक तथा रणनितिहरू कार्यान्वयनमा जोड दिनुपर्ने, विपद् र भूकम्पका विषयहरूमा पूर्वतयारीका चेतनामूलक र अन्य तालिममा सहकार्य गर्ने गराउने, भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालबाट उत्पादन गरेका सामग्रीहरू अपांगता भएका व्यक्तिहरूलाई केन्द्रित गरी उनीहरूले प्रयोग गर्न सक्ने बनाउँने, अपांगताको सवालमा भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालबाट हुने गरेका तालिमहरूमा अपांगता भएका व्यक्तिहरूको संस्थागत र व्यक्तिगत सहभागिता गर्ने–गराउने र रोष्टर तयार गर्ने, अपांगता भएका व्यक्तिहरूलाई उनीहरू क्षमता अनुसार रोजगारीका लागि पहल गर्ने–गराउने लगायतका कुराहरुका रुपमा ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका छन् ।

ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका कुराहरू तथा छलफलमा उठेका कुराहरूलाई संवोधन गर्दै भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठले यस संस्था स्थापना हुँदा देखि नै अपांगता भएका व्यक्तिहरूको समस्या प्रति संवेदनशिल रहेको बताउँदै अपांगता सवालमा पनि केहि कामहरू गरिरहेको र भविष्यमा पनि अझै वढि संवेदनशिल भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

छलफलमा भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालका निर्देशक डा. गणेश कुमार जिमी तथा कार्यक्रम संयोजक प्रनव दाहाल लगायत अपांगता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.