मुला बिक्री नभएपछि खेतमै जोतेर नष्ट गर्न बाध्य

परासी । बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–४ का कृषक रामानन्द कोइरीले यतिबेला तयारी अवस्थामा रहेको मुला बिक्री नभएपछि खेतमै जोतेर नष्ट गर्न बाध्य भए ।

दोस्रो लहरको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएपछि तरकारी बिक्री गर्न नपाएको उनि बताउछन् । स्थानीय हाटबजारहरुमा आफै तरकारी बिक्री गर्दै आएका कोइरीले कोरोना भाइरसको महामारी शुरु भएपछि विगत दुई वर्षदेखि विशेषगरी मुलामा ठूलो घाटा व्यहोर्नुपरेको गुनासो गरे ।

एक बिघा भन्दा बढी जग्गामा उनले लगाएका तरकारी बारीमा लटरम्म फलेका छन् । उनले मुला, काउली, खुर्सानी, बन्दा, धनिया, गाजर ,आलु, प्याजलगायत खेती गरेका छन् । बजार लैजान नपाएपछि कि त बारीमै नष्ट गर्नुपर्ने कि त सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यतामा पुगेको कोइरी बताउछन् । यसवर्ष तीन कठ्ठा भन्दा बढीमा लगाएको तीन क्विन्टल बढी मुला नोक्सान भएको उनले बताए ।

गत वर्ष पनि उत्पादन भएको ८० प्रतिशत मुला बारीमा नष्ट गर्नुपरेको उनले बताए । अहिले बजारमा मुला प्रति केजी रु २० देखि रु ४० सम्ममा बिक्री हुने गरेको छ । तरकारीखेती बाटै घर घडेरी जोडेका कोइरीले तीनजना छोराछोरीलाई उच्च शिक्षासम्म पढाउन सफल भएका छन् ।
तर, विगत दुई वर्षदेखि तरकारीमा ठूलो क्षति सहनुपरेको उनि बताउछन् । महामारीबाट बच्न निषेधाज्ञा जरुरी रहेको बताउँदै उनले कोभिड प्रभावित कृषकलाई उचित राहत ल्याउनुपर्ने माग गरे ।

बजारमा तरकारी पाउन छोडेपछि उपभोक्ता पनि कृषकको बारीमा तरकारी खोज्दै पुग्न थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण जोखिम र निषेधाज्ञाका कारण कृषकको खेतमा ताजा तरकारी किन्न आएको स्थानीय अर्जुन क्षेत्रीले बताए । कृषकहरूको तरकारी बिक्री नभएर खेतमै नष्ट भएको देख्दा दुःख लागेको उनले बताए ।

पन्ध्र धुरमा मुलाखेती गरेका अर्का कृषक रामनरेश राय पनि मुला बिक्री नभएर चिन्तित छन् । उनि पनि यस क्षेत्रका सफल तरकारी कृषक हुन् । एक बिघा भन्दा बढीमा उनले विभिन्न जातका तरकारीखेती गरेका छन् । मुलाखेतीमा भने घाटा सहनुपरेको उनि बताउछन् ।

बीउ, मल र ज्याला खर्च गरेर लगाएको मुलाले बजार नपाउँदा खेतमै नष्ट गर्नुप¥यो। “खेती गर्ने बेला न समयमा मल पायौं न बीउ नै, अहिले फेरि बिक्री गर्न पाईएन”, उनले भने । कोरोना सङ्कट लम्बिरहे अब तरकारी खेतीबाट विस्थापित हुनुपर्ने अवस्था आएको कृषक रायको भनाइ छ ।

विगतमा तरकारी खेतीबाट मनग्य आम्दानी गरेर घरव्यवहार चलाउन र छोराछोरीलाई पढाउन समेत पुगेको भए पनि अहिले थला पर्नुपर्ने अवस्था आएको कृषक बताउँछन् । बजारमा लैजान नपाए पछि गाउँमै बाँड्ने वा खेतमै आउने उपभोक्तालाई सस्तो मूल्यमा मुला लगायत तरकारी बिक्री गर्नुपरेको कृषकको दुखेसो छ ।

You might also like

Comments are closed.