सञ्चार माध्यममा अपाङ्गता मैत्री सूचना र सामग्री प्रयोग गर्न आग्रह

पोखरा । कोभिड १९ को महामारीमा अपाङ्गता भएका व्यक्तिहरु थप जोखिममा रहेको भन्दै उनीहरुको आवाजलाई सञ्चार माध्यमले प्राथमिकता दिन अपाङ्गमैत्री सूचना सामग्री प्रयोग गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।

स्वाबलम्बन जीवनपद्धति केन्द्र–पोखराले कोभिड महामारीमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था र मिडियाको भूमिका विषयक भर्चुअल अन्तक्रिया कार्यक्रममा सहभागीहरुले विभिन्न कारणले अपाङ्गगता भएकाहरुको अधिकारलाई स्थापित गर्न सञ्चार माध्यमले अपाङ्गतामैत्री शब्द र सामग्री प्रयोग गर्न आग्रह गरेका हुन् ।

दृष्टिविहीन पत्रकार एवं कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्दै सञ्चार माध्ययमा अझै पनि अपाङ्गता भएका समुदायलाई होच्याउने र विभेद गर्ने खालका शब्दहरू प्रयोग गरिएका समाचारहरु प्रकाशन प्रसारण हुँदै आएको बताउए । आम नागरिकलाई सुसूचित गराउने सशक्त माध्यम र सञ्चारकर्मीले अपाङ्गतामैत्री भाषाको प्रयोग नगरिदिँदा यस क्षेत्रका व्यत्तिको आत्मसम्मानमा चोट पुग्न गएको उनको भनाइ थियो । उनले शारीरिक अंग वा प्रणालीमा भएको समस्या तथा कठिनाइको आधारमा १० प्रकारका अपाङ्गता भएको जानकारी दिए । उनका अनुसार शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, दृष्टिविहीनता, न्यूनदृष्टियुक्त, पूर्ण दृष्टिविहीन, सुनाइसम्बन्धी अपाङ्गता, बहिरा, सुस्त श्रवण, श्रवण दृष्टिविहीन अपाङ्गता, स्वर र बोलाइ सम्बन्धी अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तश्राव (हेमोफिलिया), अटिज्म सम्बन्धी अपाङ्गता, बहुअपाङ्गता रहेको छ ।

केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङले शारीरिक मानसिक बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालिन असक्तता, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा विद्यमान अवरोधको कारण अपाङ्गगता भएकाहरुको जनजीवन सहज हुन नसकेको बताऐ ।अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभाकारी ढङ्गले समाजिक जीवनमा सहभागी हुन बाधा भएको यथार्थ प्रस्तुत गर्दै सञ्चारमाध्यमा अपाङ्गताका मुद्दाहरुलाई प्राथमिकता दिन उनले आग्रह गरे ।

उक्त भर्चुअल कार्यक्रममा सहभागी हुँदै संस्थाका परियोजना अधिकृत लोकप्रसाद ढकालले सञ्चार माध्यममा पर्याप्त सांकेतिक भाषा प्रयोग नभएको, टेलिभिजनका आएका क्याम्पसनहरु अपाङ्गता भएका व्यक्तिहरूले देख्ने र बुझ्न खालको नभएको बताए ।

केन्द्रका महासचिव अञ्जना केसीले अपाङ्गता भएका व्यक्तिहरुको समाचार सञ्चार माध्यममा आए पनि अझै गम्भीर समस्या समेटिएका कथा व्यथाहरू बाहिर आउन नसकेको बताइन् । सञ्चार माध्यमका सूचना अधिकांश अटिज्म, बहु अपाङ्गता भएका, बहिरा समुदाय र बौद्धिक अपाङगता भएका व्यक्तिहरुको पहुँचमा पुग्न नसकेको उनको भनाइ थियो । केसीले कार्यक्रममा विभिन्न सञ्चार माध्यमका बीस जना पत्रकारहरुले अपाङ्गता सम्बन्धी प्रयोग हुने शब्दावली एवं त्यसको अर्थ र अपाङ्गगता सम्बन्धी अधिकारका विषयमाथिको छलफलमा सक्रिय सहभागित जनाएको जानकारी दिइन् । यस अघि केन्द्रले महामारीका समयमा सूचना, सञ्चार र सेवासुविधामा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचको अवस्था सम्बन्धी सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

You might also like

Comments are closed.