अर्थतन्त्र सुधार्न निजी क्षेत्रका छाता संस्थाले सहकार्य गर्ने

काठमाडौं ।  विद्यमान अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपाय खोज्न निजी क्षेत्रका दुई ठूला छाता सङ्गठनले सहकार्य गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले अर्थतन्त्रका समस्या समाधान गर्न संयुक्तरूपमा अघि बढ्ने ऐक्यबद्धता जनाएका हुन् ।

महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागतका लागि शुक्रबार परिसंघ सचिवालयमा आयोजना गरिएको कार्यक्रममा दुवै संस्थाले यस्तो ऐक्यबद्धता जनाएका हुन् ।

परिसंघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिलेको चुनौतीपूर्ण अवस्थामा अर्थतन्त्र सुधारसँगै निजी क्षेत्रमैत्री कानून निर्माणका लागि सहकार्य आवश्यक रहेको बताए ।

“ निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि छाता सङ्गठन मिलेर समाधानका उपायसहित सरकारसमक्ष प्रस्तुत हुनुपर्छ”, उनले भने । एक भएर अगाडि बढ्दा निजी क्षेत्रको समस्या समाधान भएको दृष्टान्त प्रस्तुत गर्दै आगामी दिनमा पनि अर्थतन्त्र सुधारसहित लगानीमैत्री वातावरण निर्माणका लागि एक भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

अर्थतन्त्र चलायमान बनाउन तथा विद्यमान चुनौतीको सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्नेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि सहमति जनाएको प्रेस विज्ञप्तिमा उल्लेख छ । “निजी क्षेत्रले सङ्गठितरूपमा उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुहुँदै अध्यक्ष ढकालले समान ध्येयका साथ अगाडि बढे समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो”, विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी, परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले विद्यमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न यथार्थपरक समाधानका उपायसहित सरकारलाई सुझाउनुपर्ने बताए ।

परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले थप प्रभावकारीरूपमा निजी क्षेत्रका समान समस्या समाधानका लागि समान समाधानका उपाय खोज्नुपर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा परिसङ्घका उपाध्यक्ष हेमराज ढकाल, परिसङ्घ गभर्निङ काउन्सिल सदस्य शिवरतन सारडा, योगेश्वरलाल श्रेष्ठलगायत थिए ।

You might also like

Comments are closed.