म्याग्दी । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीका सदस्यहरुले आफुलाई ग्राहकका रुपमा नभई संस्थाको मालिकका रुपमा बुझ्दाका दिन सहकारीका समस्या समाधान हुने बताएका छन् ।
विश्वामित्र वचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीले शनिवार आयोजना गरेको वित्तीय साक्षरता तथा सदस्य अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्दै जिसीले यस्तो बएका हुन् ।
सहकारी सदस्यहरुको हो, सदस्यको आर्थिक सहभागिता सहित सञ्चालन हुने सहकारीमा सदस्यले आफुलाई मालिकको रुपमा नभई ग्राहकको रुपमा हेर्ने गरेका कारण समस्या देखिएको भन्दै जिसीले जुनदिन देखि सदस्यहरुले आफुलाई मालिकका रुपमा बुझ्न थाल्छन्, त्यो दिनदेखि सहकारीहरु समस्यामा नपर्ने बताए ।
सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सञ्चालकहरुले सदस्यहरुको चाहना र आवश्यकताका आधारमा योजना बनाउने, शेयर सदस्यहरुले संस्थाको योजनालाई सफल पार्नका लागि सहयोग गर्ने र कर्मचारीले दैनिक कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सके सहकारीका समस्या समाधान भई सहकारीमार्फत आर्थिक तथा सामाजिक रुपान्तरणका क्षेत्रमा काम गर्न सकिने बताए ।
सहकारीमा यतिबेला वचत फिर्ताको चाप बढेको भन्दै जिसीले वचत फिर्ताको चाप बढ्दै गए त्यसको असर ऋणी सदस्यहरुमा पर्ने भएकाले ऋण लगेर भुक्तान नगरेका सदस्यहरुले यतिबेला ध्यान दिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा बेनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बाँनियाले विश्वामित्र सहकारीमा सदस्यहरुको सक्रिय सहभागिता, सञ्चालकहरुको प्रभावकारी सञ्चालन र कर्मचारीहरुको सही व्यवस्थापन भएकाले सहजताका साथ सञ्चालन भइरहेको जानकारी दिए ।
बजारमा चल्ने हल्लाका पछि नलागि संस्थाको यथार्थ अवस्था बुझेर ढुक्कका साथ कारोबार गर्न उनले सबै शेयर सदस्यहरुलाई आव्हान गरे ।संस्थाका अध्यक्ष याम बहादुर बानियाले शेयर सदस्यहरुको चाहना र भावना अनुसार संस्था सञ्चालन भएकाले दिर्घकालिन लक्ष्यका साथ अगाडि बढेको बताए ।
विश्वामित्र सहकारीमा हाल ७ सय ७५ जना शेयर सदस्य, ३ करोड ७० लाख शेयर रकम, १९ करोड वचत रकम, २२ करोड ऋण लगानी, १ करोड ५५ लाख कोष रहेको प्रवन्धक सरस्वती बानियाले जानकारी दिए । कार्यक्रममा स्वागत शिक्षा उपसमितिका संयोजक देवी जिसी र सञ्चालन सचिव भोज बहादुर बानियाले गरेका थिए ।
Comments are closed.