विश्व वातावरण दिवसको अवसरमा बाबा फ़ाउण्डेशनद्वारा वृक्षरोपण

पोखरा । बाबा फ़ाउण्डेशन नेपालले विश्व वातावरण दिवस २०२३ को अवसरमा वृक्षरोपण एवं सरसफाई कार्यक्रम गरेको छ ।

‘फ़ाउण्डेशनले सोमवार जिल्ला ट्राफिक कार्यालय कास्की परिसरमा विभिन्न प्रजातिका फलफ़ुल र वातावरणमैत्री रूख रोपणका साथै गतबर्ष रोपिएका बिरुवाको गोडमेल र सरसफाई गरेर विश्व वातावरण दिवस मनाएको हो ।

कार्यक्रममा फ़ाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठ, उपाध्यक्ष रेणु गुरूङ, सचिव टंकराज अधिकारी र सदस्य जेपी प्रधानांगले जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख कृष्णबहादुर चन्दलाई आँपको बिरुवा हस्तान्तरण गरेका थिए । रोपण गरिएका बिरुवाहरू बेलपत्र, कागती, गुलमोहर, रुद्राक्ष, आँप, तेजपत्ता, एबोकाडो लगायत छन् ।

वातारण संरक्षणमा मानव जातीको भूमिका महत्वपूर्ण हुने फ़ाउण्डेशनका अध्यक्ष श्रेष्ठको भनाई छ । यहि कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित फ़ाउण्डेशनले प्रत्येक बर्ष बोट बिरुवा रोपणका साथसाथै सरसफ़ाई गरी दिवस मनाउदै आएको श्रेष्ठले बताए ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख कृष्णबहादुर चन्दले बिग्रदै गरेको वातावरणीय अवस्था र यसबाट उत्पन्न हुन सक्ने चुनौतीको सामाना गर्न वातावरण संरक्षणमा सबैले ध्यान दिन अत्यावशक रहेको बताए।

ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक शिव पाठकले फ़ाउण्डेशनले वातावरणीय क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै ट्राफिक कार्यालय परिसर बृक्षारोपण गरेकोमा धन्यवाद दिएका थिए ।

प्रत्येक बर्ष जुन महिनाको ५ तारिखमा विश्वव्यापी रूपमा मनाइने  यस दिवसमा  प्लास्टिक प्रदूषण विरुद्ध लागौँ’ अथवा प्लाष्टिक जन्य प्रदुषण निर्मुल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं भन्ने मुल नारासहित यस वर्षको वातावरण दिवस मनाईएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइदै आएको छ ।

 

 

You might also like

Comments are closed.