पोखरामा नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’ हुने

कास्की ।  पोखरामा आगामी साता आयोजना हुने नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यही असार ८ र ९ गते सो फेस्टिभल आयोजना गरिएको पोखरामा आज पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस प्रकारको फेस्टिभल दक्षिण एसियामै पहिलोपटक हुन लागेको आयोजकले जनाएको छ । कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए ।

कार्यक्रममा सहभागिताका लागि चीनको लिङ्जी नगरबाट उपप्रमुखको नेतृत्वमा ६० जनाको टोली चार्टर उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछन् । फेस्टिभलको सहयोगी संस्थाका रुपमा पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखरा छन् । बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच सझदारी हस्ताक्षर भएको थियो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले चीन सरकार र दुतावासको आयोजनामा फेस्टिभल हुनु पोखराका लागि शुभ समाचार रहेको बताए । उनले फेवातालमा हुने बोट रेसका लागि आवश्यक सबै सुरक्षा प्रबन्ध अपनाइने बताए । चीनले यसप्रकारको बोट फेस्टिभल विभिन्न ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना गर्दै आएको नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ सिनले बताए ।

उनले फेस्टिभलले नेपाल र चीनका जनताबीचको सम्बन्धलाई थप प्रगाढ बताउने विश्वास व्यक्त गरे । रेसका लागि चीनको केरुङ नाका हुँदै आठ वटा विशेष खालका डुङ्गा, अन्य आवश्यक सामग्री र वोट रेस प्रशिक्षक जेठ अन्तिम साता पोखरा ल्याइएका थिए ।

प्रतियोगितामा देशका सातै प्रदेशबाट र चीनबाट गरी एक सय २० प्रतियोगीहरु सहभागी हुनेछन् । दुई सय र पाँच सय मिटरमा दुई भागमा आठ वटा बोटमार्फट रेस हुनेछ । विजेताले रु ३० लाख पुरस्कार पाउने आयोजकले जनाएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कार्यक्रममार्फत पोखरा र समग्र गण्डकी प्रदेशको प्रवद्र्धनमा सहयोग पुग्ने बताए । उनले भने, “दक्षिण एशियामा पहिलो पटक आयोजना गरिएको बोट रेस फेस्टिभलले नेपालको विश्वभर प्रवद्र्धन हुनेछ । यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

फेस्टिभलमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम पनि रहनेछ । सो अवसरमा पोखरा विमानस्थलमा पहिलो पटक हुने अन्तर्राष्ट्रिय उडानले पर्यटन क्षेत्र उत्साहित भएको अध्यक्ष श्रेष्ठले बताए । रासस

You might also like

Comments are closed.