गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्यले समसामयिक विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सदस्यले बाढीलगायतका विपत्तिले पु¥याएको क्षतिका साथै मलबीउको अभाव भएका विषयमा ध्यानाकर्षण गराएका हुन् । बैठकमा प्रदेशसभा सदस्य श्यामराजा महतले तनहुँको शुक्लागण्डकीको दुलेगौँडाबाट साँखेसम्मको बाटो बाढीपहिराका कारण चारपाँच ठाउँमा भत्के पनि सफा नगर्दा आवतजावतमा समस्या भएको बताए ।
भएको बाटो पनि डोजर लगाएर खनिएको जानकारी गराउँदै उनले मान्द्रे खोलामा कलभर्ट बनाउँदा त्यहाँ आवतजावत गर्न कठिनाइ भएको बताए । खेतीबालीका समयमा देखिएको मलबीउको अभावलगायतका समस्यामा उनले सरकारको ध्यानाकर्षण गराए ।
अर्का सदस्य हरिबहादुर भण्डारीले यसअघि शून्य समयमा पटकपटक म्याग्दी जिल्ला अस्पताल अलपत्र, बेनी जोमसोम सडक निर्माणमा ढिलाइ, मलबीउको अभावलगायत उठाउने गरे पनि त्यसको आजसम्म कुनै उत्तर नआएको भन्दै शून्य समयको औचित्यबारे प्रश्न गरे ।
सदस्य चम्पादेवी खड्काले साढे दुई दशकअघि ट्र्याक खुलेको मध्यपहाडी लोकमार्गअन्तर्गतको बागलुङ उपल्लाचौरदेखि बीहुँ, घोडाबाँधेसम्मको सडक दुई वर्षमा कालोपत्र हुनुपर्नेमा पटकपटक म्याद थप्दा पनि सात वर्षसम्म पनि कालोपत्र नभएको भन्दै सो ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जान सरकारको ध्यानाकर्षण गराए ।
बेदबहादुर गुरुङले यही जेठ ३१ र ३२ तथा असारको ३ र ४ गतेको बाढीका कारण मादीको ताङतिङ–सिक्लेस बाटो अवरुद्ध हुँदा खाद्यान्न ढुवानी गर्न तथा बिरामीलाई अस्पताल लैजानसमेत समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । शून्य समयमा सदस्य भक्तबहादुर कुँवर, सुधीरकुमार पौडेललगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
Comments are closed.