विहेवारी बीसवर्ष पारी : बालविवाह रोक्न आर्थिक प्रोत्साहन

नारायण अधिकारी/ चितवन । राप्ती नगरपालिकाले चेपाङ समुदायमा बालविवाह रोक्न अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि नगरपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालनको तयारी समेत गरेको छ । नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा ती समुदायको बसोबास छ । नगरपालिकामा ६४ हजार ८२० जनसङ्ख्या रहेकामा १० हजारभन्दा बढी चेपाङ छन् । नगरप्रमुख प्रभा बरालले भनिन् “ग्रामीण क्षेत्रमा रहेका सीमान्तकृत चेपाङ समुदायमा बालविवाह रोक्न विशेष अभियान सञ्चालन गर्न लागेका छौँ । सचेतनाका कारण बालविवाहमा केही न्यूनिकरण भएको छ । ”

चेपाङ समुदायमा ११ वर्षदेखि नै विवाह हुने जनाइएको छ । उनले भनिन्,“पन्ध्र वर्षकी किशोरीले दुई सन्तान लिएर हिँडेको पनि देख्न सकिन्छ । बच्चाले बच्चा जन्माउने अवस्था रोक्न जरुरी छ ।”

नगरपालिकाले आगामी वर्षका बजेटमा २० वर्ष पुगेर विवाह गर्नेलाई प्रोत्साहनका कार्यक्रम राख्ने तयारी समेत गरेको छ । चेपाङ युवतीले २० वर्ष पुगेपछि विवाह गरेमा भने सम्मानसँगै आर्थिक सहयोग गरिने उनको योजना छ । उमेर नपुगि विवाह गरेकाको विवाह दर्ता नगर्ने र आवश्यक सहयोग पनि नगरपालिकाले नगर्ने जनाएको छ । नगरपालिकाले ती ग्रामीण क्षेत्रमा चेपाङका लागि दुई छात्रावास सञ्चालन गरेको छ । ती छात्रावासमा अध्ययन गर्ने छात्राहरु परीक्षाको समयमा विवाहको लागि भागेर जाने गरेको उनले गुनासो गरिन् । उनले भनिन् “राम्रो शिक्षा दिक्षा दिने हाम्रो योजना खेर जाँदा निकै दुःख पनि लाग्छ ।”

चेपाङका बालबालिकाहरुको विद्यालय भर्ना दर शतप्रतिशत बनाईएको भए पनि विद्यालय छोड्ने दर भने घटाउन कठीन भएको नगर उपप्रमुख ईमासिंह लामाले बताए । उनले भने “हामीले छात्रावास, विद्यालय खाजा जस्ता आकर्षक कार्यक्रम ल्याएका छौं, तर पनि विद्यालय छोड्ने समस्या रोकिएको छैन ।” चेपाङ सामुदायको शिक्षाको स्तर माथि उठाउन नगरपालिका लागि परेको उनको भनाई छ ।

भरतपुर अस्पतालका स्त्रीरोग विशेष डा रामप्रसाद सापकोटा उमेर नपुग्दै विवाह गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य समस्या आउने बताउछन् । उनका अनुसार किशोरी आमा बन्दा आमा र बच्चा दुवैको ज्यान जान सक्ने खतरा हुन्छ । पाठेघरको विकास नहुँदै आमा बन्दा बच्चा सानो, पाठेघरलाई असर पर्ने, बच्चा जन्मिहाले पनि आमा र बच्चा दुवैको शारीरिक र मानसिक विकासमा अवरोध आउने उनको भनाई छ । सानो उमेरमा गर्भवती भएमा अन्य महिलाहरुमा भन्दा मानसिक समस्या, समय नपुगी बच्चा जन्मिने समस्या, कम तौल भएको बच्चा जन्मिने, उच्च रक्तचाप हुने र वेहोस् हुने समस्या समेत हुने उनले जानकारी दिए ।

प्रसूतिको समयमा धेरै रगत बग्ने र आमाको मृत्यु समेत हुने उनि बताउछन् । यस्ता महिलाको बृद्ध अवस्थामा आङ खस्ने समस्या बढी हुने गर्दछ । भरतपुर अस्पतालमा चेपाङ किशोरीहरु कम उमेरमा बच्चा जन्माएपछि विभिन्न समस्या लिएर आउने गरेको उनको भनाई छ ।

मुलुकी अपराध संहितामा विवाहका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको छ । बीस वर्ष नपुगी विवाह गरे वा गराएमा यसलाई कसुर मानेर व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना उल्लेख छ । बीस वर्षअघि विवाह गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुने उल्लेख छ ।

You might also like

Comments are closed.