भलिबल संघको सल्लाहकार पराजुली र शर्मा तथा गीतकार बिष्ट र गायक वानिया सम्मानित

पोखरा । गण्डकी प्रदेश भलिवल संघले संघको केन्द्रीय सल्लाहकार नियुक्त भएका भलिवलका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी हरिप्रसाद पराजुली, टाईगर ग्रुप पोखरा, नेपालका अध्यक्ष नारायणप्रसादलाई शर्मा, राष्ट्रिय खेल भलिबल गीतका रचनाकार आरजू विष्ट सल्यानी तथा गीतका गायक, संगीतकार विनोद वानियलाई आज पोखरामा सम्मान गरेको छ ।

आफ्नो जीवनकालमा भलिबलसंग जोडिएर गरेको महत्वपूर्ण योगदानको कदर गर्दै गण्डकी प्रदेश भलिवल संघले सम्मान गरेको बताएको छ । संघको सल्लाहकार नियुक्त भएका पराजुली, शर्मा, गायक वानिया र गीतकार बिष्टलाई संघका उपाध्यक्ष याम बहादुर गुरुङ, गण्डकी अध्यक्ष नविन कुमार गुरुङ, टाईगर ग्रुप पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, उपाध्यक्ष देवेन्द्र केसी, सचिव डिवि नेपाली, गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ महासचिव टहलसिंह थापा मगर लगायतले सम्मानपत्र, पुष्पगुच्छा र खादाले सम्मान गरेका हुन् ।

कार्यक्रममा सम्मानित भएपछि पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी पराजुलीले आफ्नो जीवन खेलकुदमै समर्पण गरेको बताए । उनले खेलमा सफलता पाउनका लागि दृढ इच्छाशक्ति चाहिने बताए । अनुशासन र व्यवश्थापन सबैभन्दा महत्वपूर्ण कुरा भएकोले यसमा ख्याल गर्नुपर्ने बताए । उनले गण्डकीमा भलिवलको जुनियर र सिनियर टीम बनाउनु पर्ने र उनीहरुलाई अपग्रेड गर्दै राष्ट्रिय टीममा नै गण्डकीका अधिकांश खेलाडी पार्न सक्षम हुनुपर्ने सल्लाह दिए ।

अर्का सम्मानित व्यक्तित्व टाईगर ग्रुप पोखरा, नेपालका अध्यक्ष तथा पोखरा महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्माले भलिवलको उर्वरभूमि गण्डकीले आफ्नो खेलप्रतिको छविलाई जोगाउन यसको विकास र निरन्तरतामा जोड दिए । उनले राष्ट्रिय खेल भलिबलको गीत पोखराबाटै बन्यो । अहिले देशभर बज्छ । अब संघले निर्णय गरेर केन्द्रमा पठाई ७५३ वटै पालिकामा यसको प्रवर्धन गर्न गराउन अनुरोध गरे ।

अहिले त हामी सबैको पहलले यसको भिडियो पनि तयार भएको छ । “लौ आयो भलिवल” गीतलाई प्रवर्धन गर्ने जिम्मेवारी पनि हामी सबैको भएको बताए । उनले टाईगर ग्रुपले चौथो राष्ट्रिय अन्तराष्ट्रिय भलिवल प्रतियोगिताका लागि गृहकार्य गरिरहेको पनि जानकारी दिए ।

यस्तै ‘लौ आयो भलिवल’ गीतका गायक तथा संगीतकार विनोद वानियाले २०४६ साल पछिको समयमा देशमा

खेलकुदका गीतको अभाव देखिएको परिवेशमा हामीले अहिलेसम्म एक दर्जन गीतह बनाईसकेको र परिपूरण गरेर सघाएको बताए । यी जम्मै गीतमा गीतकार आरजू विष्ट जीले साथ दिनुभएको छ । भलिबल गीत हामीले २०५९ सालमा तत्कालिन जिल्ला भलिवल संघका डिवि नेपाली दाई, याम दाई तथा पाण्डु दाई लगायतको सल्लाहमा तयार गरेका थियौं । जो अहिलेसम्म लोकप्रिय भईरहेको छ र भविष्यमा पनि जिवन्त भईरहने छ, वानियाले भने ।

गण्डकी खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले गण्डकीमा भलिवल संघ तथा विभिन्न समूह, संस्थाको योगदान महत्वपूर्ण रहेको बताए । उनले अँझ सबैजना एकतावद्ध हुन र भलिवलकै लागि जाँगरिलो बन्न जरुरी भएको बताए ।

हामीले खेलसंग सम्बन्धीत सबैको सूचिकरणको काम गरिरहेका छौं, उनले भने यसमा सबैले सहयोग गर्नुहोला । उनले खेल एक्लैले नहुने, पदाधिकारीले मात्रै संचालन गरेर नहुने भएकोले सबैले अनुशासित भई टीमवर्कमा काम गर्न सुझाए ।

संघका केन्द्रीय उपाध्यक्ष याम बहादुर गुरुङले हामीले भलिवल गीतलाई भदौ १ गतेबाट युट्यूबमा राखेकोले यसलाई सबै खेलप्रेमीमाझ पुर्याउन र प्रवर्धन गर्न सहज भएको बताए । भलिवल लोकप्रिय पनि छ । यसलाई हिमाल, पहाड र तराई इनडोर वा आउट डोर जहाँ पनि खेल्न सकिने भएकोले लोकप्रिय छ ।

गण्डकी उसैमा भलिवलको उर्वर क्षेत्र हो र भलिवलको राष्ट्रिय गीत पनि पोखराबाटै बनेको सुखद संयोग हामीसंग छ उनले भने । कहिलेकाँही नकारात्मक प्रबृत्तिहरु देखिने गरेकाले सरोकार राख्ने सबैले तिनलाई हटाउदै सकरात्मक भूमिका निर्वाह गर्नका लागि उनले सुझाए । भदौ २३ मा खाँदवारिमा संघको साधारण सभा हुने भएकोले गण्डकीको राम्रो सहभागिताका लागि सबैलाई आग्रह गरे ।

गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविनकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघका महासचिव टहलसिंह थापा मगरले गरेका थिए ।

You might also like

Comments are closed.