सरदर प्रतिकिलो रु एक सय २० मा बिक्री गर्दा वार्षिक रु एक करोड ४४ लाखको करोबार हुने उनको अनुभव छ । जलेश्वर कृषि च्याउ तथा पशुपक्षी फार्म प्रालिमार्फत च्याउ बजारसम्म लैजान उनले रु २५ लाखमा गाडी किन्नुभएको छ । तीनजना पूर्णकालीन र छ जना आंशिक गरी नौ जनालाई उनले रोजगारी पनि दिएका छन् ।
पौडेल भन्छन्, “हिजो म अर्काको देशमा अरूकै काम गरेर आएको हुँ, आज आफ्नै नेपाली दाजुभाइलाई गाउँठाउँमा काम दिन सक्ने भएको छु ।” उनले दुईवटा ग्रिन हाउस बनाउन रु ६ लाख अनुदान सरकारबाट लिएका छन् । काम गर्ने मजदुर खर्च, ब्याज, कच्चापदार्थ खर्च, औषधी उपचार र व्यवस्थापन खर्च कट्टी गरेर मासिक रु एक लाख २० हजार बराबर कमाई हुने उनको भनाइ छ ।
“कमाएको हिसाबले विदेशमा मासिक रु ७५ हजार आउँथ्यो । विना लगानीको कमाई ठिकै लाग्थ्यो, अहिले कम्पनीमा भएको लगानी रु एक करोडमध्ये ५० लाख ऋणमा छ, घरपरिवारसँगै बसेर कृषिमा राज्यलाई योगदान गर्न पाएको छु, यसमै खुसी छु”, उनले भने ।
जाडो मौसममा तीन किलो र गर्मी मौसममा दुई किलो परालको पोका बनाएर बीउ उमार्ने गरिन्छ । च्याउ उत्पादनका लागि पराल तयार पार्नेदेखि ग्रिन हाउसमा लगेर पोका झुन्ड्याउने काम गरेबापत प्रतिपोका रु ३२ मजदुरले पाउँछन् । यसरी काम गर्दा एक मजदुरले सरदर रु एक हजार दैनिक पाँउछन् । रासस





Comments are closed.