सामाजिक सञ्जालको दुरुपयोग नगर्न अनुरोध

 

काठमाडौं । नेपाल प्रहरीको साइबर व्यूरो काठमाडौँले सामाजिक सञ्जालको दुरुपयोग नगर्न आम नागरिकमा अनुरोध गरेको छ । व्यूरोले सोमबार एक सूचना जारी गरी सामाजिक सञ्जालको प्रयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्री बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्य भइरहेको तर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता कार्य नगर्न÷नगराउन आग्रह गरेको हो ।

व्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले हाल निषेधाज्ञाका समयमा पनि त्यस्ता गतिविधि देखिएकाले सार्वजनिक सूचनामार्फत सचेत गराइएको बताए ।

सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्यूबलगायतमा व्यक्तिको तस्विर, भिडियो दुरुपयोग गर्दै प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न रोक लगाएका सामग्री सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री कसैप्रति घृणा वा द्वेष फैलाउने उद्देश्यबाट प्रकाशन, प्रसारण गरेको पाइएमा विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने जनाइएको छ । साथै, त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानुनवमोजिम ब्यूरोबाट कारवाही हुँदै आएको र कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेकोसमेत व्यूरोले जानकारी गराएको छ ।
रासस

You might also like

Comments are closed.