विपतले ३० वर्षमा ३८ खर्ब डलर बराबरको बाली नोक्सान

पेरिस । प्राकृतिक तथा मानव निर्मित प्रकोपका कारण ३० वर्षमा बाली तथा पशुधनमा ३८ खर्ब अमेरिकी डलर बराबरको नोक्सान भएको सयुंक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ) ले शुक्रबार जनाएको छ ।

बाढी, खडेरी, किराको प्रकोप, आँधी, रोग तथा युद्धका कारण सन् १९९१ देखि २०२१ को बीचमा प्रतिवर्ष एक खर्ब २३ अर्ब डलर बराबरको खाद्यान्न उत्पादन गुमाएको एफएओले एक प्रतिवेदनमा जनाएको छ । यो कूल उत्पादनको पाँच प्रतिशत तथा प्रतिवर्ष आधा अर्ब मानिसलाई खुवाउन पुग्ने खाद्यान्न रहेको समेत प्रतिवेदनमा उल्लेख छ ।

एफएओले पहिलो पटक विश्वव्यापी तथा व्यक्तिगत दुवै स्तरमा प्रकोपको लागत मापन गर्ने उद्देश्यले यस्तो अनुमान सङ्कलन गर्ने प्रयास गरेको हो ।

jutta mela

“अन्तराष्ट्रिय समुदायले यो तथ्यको समीक्षा गर्दा सन् १९७० को दशकदेखि प्रकोपहरू चौगुनाले बढ्दै गएको छ, यसले खाद्य उत्पादनको प्रभावलाई बढाएको छ”, एफएओका तथ्याङ्क विभागका उपप्रमुख पिइरो कोन्फोर्टीले भने ।

एफएओका अनुसार प्रकोपको गम्भीरता र तीव्रता बढ्दै गएको छ । सन् १९७० को दशकमा प्रतिवर्ष हुने यस्ता प्रकोपका घटना एक सयबाट बढेर पछिल्लो २० वर्षमा प्रतिवर्ष चार सय पुगेको छ । यसका लागि मानव र पशुजन्य रोगका साथै मौसम परिवर्तन बढ्दो जिम्मेबार रहेको एफएओको भनाइ छ ।

“बाढी, खडेरी, पानीको अभाव, जैविक विविधतामा भएको क्षति र वातावरणीय ह्रासजस्ता असङ्ख्य जोखिमका कारण विश्वभर कृषि क्षेत्र बढ्दो जोखिमले अवरुद्ध छन्”, एफएओले भनेको छ । एफएओले जलवायु परिवर्तन, महामारी र सशस्त्र द्वन्द्वका कारण विपत् जोखिमको प्रणालीगत चालकहरू पहिचान गरेको छ ।

उक्त संस्थाका अनुसार औसत वार्षिक खाद्यान्न क्षति ६ करोड ९० लाख टन हुने गरेको जुन फ्रान्सको वार्षिक उत्पादन बराबर हो । त्यस्तै चार करोड टन फलफुल तथा तरकारीको उत्पादन र एक करोड ६० लाख टन मासु, माछा र अन्डा नष्ट भएको छ । एफएओले विपत्का कारण कृषि क्षेत्रमा करिब २३ प्रतिशत नोक्सानी भएको उल्लेख गरेको छ ।

त्यस्तै गरिब राष्ट्रहरूले कृषि उत्पादनमा १० प्रतिशतसम्म क्षति बेहोरिरहेका छन् । यसमा पनि एसियासबै भन्दा धेरै प्रवाभित क्षेत्र हो । एसियामा विपत्का कारण कूल कृषि क्षतिको ४५ प्रतिशत र कूल कृषि उत्पादनको चार प्रतिशत बराबर नोक्सान भएको छ । यसै गरी प्रभावित अफ्रिकी राष्ट्रहरूले खडेरीका कारण खाद्यान्न उत्पादनको औसत १५ प्रतिशत क्षति बेहोरेका छन् । रासस/एएफपी

You might also like

Comments are closed.