उत्पादन वृद्धि गर्न किसानलाई अनुदान

दमौली तनहुँको घिरिङ गाउँपालिकाले कृषि तथा पशु उत्पादन प्रतिफलमा आधारित अनुदानलाई जोड दिएको छ । एकीकृत कृषि विकास कार्यक्रमका माध्यमबाट तरकारी खेती, पशुपालन, दुग्ध उत्पादन र फलफूल खेतीलाई पूर्ण व्यवसायीकरण गरी उत्पादन प्रतिफलमा आधारित अनुदानलाई जोड दिइएको हो । पालिकाले पशु र कृषिजन्य उत्पादनमा वृद्धि गर्न लागत साझेदारी कार्यक्रम सञ्चालन गर्नेभएको छ ।

यस कार्यक्रमले कृषिलगायत अन्य क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन टेवा मिल्ने गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । उत्पादन प्रतिफलमा आधारित अनुदान वितरण गर्दा वास्तविक किसानले पालिकाबाट सेवा सुविधा उनको भनाइ छ । गाउँपालिकालाई कृषि क्षेत्रमा विकास गर्नका लागि विभिन्न किसान प्रोत्सान कार्यक्रम ल्याएको अध्यक्ष थापाले जानकारी दिए ।

गाउँपालिकाभित्र सबैभन्दा धेरै अदुवा उत्पादन गर्ने एक सय ४४ जना किसानलाई रु सात लाख २० हजार उत्पादनमा आधारित अनुदान प्रदान गरिएको छ । एक हजार केजी उत्पादन गर्ने किसानलाई रु पाँच हजारका दरले प्रोत्सानस्वरुप अनुदान वितरण गरिएको छ ।

गाउँपालिकाले बाख्रापालक किसानका लागि बिक्रीमा आधारित अनुदानप्रदान गरेको छ । जिउँदो खसी बोकाको प्रति केजी रु दशका दरले अनुदान दिइएको छ । घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड र भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध किसानले उत्पादन गरेका खसी बोका जिउँदो तौलमा एक्काइस हजार दुई सय ३३ केजी उत्पादन गरेर बजारीकरण गर्ने किसानलाई दुई लाख बाह्र हजार तीन सय ३० रुपैयाँ अनुदान दिइएको गाउँपालिकाका पशुसेवा प्राविधिक मनोज श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाले बाँझो जग्गा निरुत्साहन गर्ने लक्ष्य राखेको छ । लामो समयसम्म बाँझो रहेको जग्गालाई उपयोग गरी खेती गर्ने किसानका लागिसमेत अनुदानको व्यवस्था मिलाइएको कृषि प्राविधिक सहायक समीक्षा ढकालले जानकारी दिए । बाँझो जग्गामा खेती गरी कृषि उपजको उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि चालु आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरिएको छ ।

उनका अनुसार कोदो उत्पादन किसानका लागिसमेत अनुदानको व्यवस्था गरिएको छ । कृषि, पशुपक्षी तथा मत्स्य तथ्याङ्क सङ्कलन कार्यक्रमका लागि रु एक लाख, सुन्तला जात फलफूल पकेट विकास कार्यक्रमका लागि ६ लाख रुपैयाँ, कृत्रिम गर्भाधान मिसन कार्यक्रमका लागि एक लाख ५० हजार रुपैयाँ, किसान सूचीकरणका लागि दुई लाख ५० हजार रुपैयाँ , मकैबाली प्रबद्र्धन कार्यक्रमका लागि रु नौ लाख ७५ हजार गरी कृषि तथा पशुपक्षी क्षेत्रमा एक करोड ३८ लाख ३८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै जिल्लाको म्याग्दे गाउँपालिकाले पशुपालक किसानका लागि पशु बीमा प्रिमियममा अनुदान दिने भएको छ । पालिकाले पशुपालक किसानको जोखिम न्यूनीकरण गर्न पशु बीमा कार्यक्रम सञ्चालन गरेको हो । सङ्घीय सरकारले पशुपालक किसानका लागि प्रिमियमको ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएकामा बाँकी २० प्रतिशत प्रिमियम रकम म्याग्दे गाउँपालिकाले किसानलाई उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले जानकारी दिए ।

रानाका अनुसार अनुदान रकम लिन किसानले नागरिकताको प्रतिलिपि, बीमा शुल्क, प्रिमियम तिरेको सक्कल बील र अन्यत्र स्थानबाट आई म्याग्दे गाउँपालिकाभित्र पशुपालन गर्ने किसानको हकमा फार्म दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिसपत्र आवश्यक पर्नेछ । रासस

You might also like

Comments are closed.