खेतीयोग्य बाँझो जग्गामा व्यावसायिक खेती गर्न अनुदान

सुदूरपश्चिम । बाँझो रहेको खेतीयोग्य जमिनमा व्यावसायिक खेती गर्न चाहने किसानलाई सुदूरपश्चिम प्रदेश सरकारले जग्गाको भाडामा अनुदान दिन लागेको छ ।

जग्गा नभएका वा कम जग्गा भएका विपन्न कृषकलाई लक्षित गरेर यो कार्यक्रम कार्यान्वयन हुन लागेको हो । बाँझो रहेको जग्गामा खेती गर्न चाहनेलाई तोकिएको वार्षिक भाडा रकममा अनुदान दिन लागिएको कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए ।

हाललाई व्यक्तिगत बाँझो जग्गा नभई बाँझो रहेको सरकारी र सार्वजनिक जग्गामा यो कार्यक्रम कैलाली सहित प्रदेशका सबै जिल्लामा कार्यान्वयन हुन लागेको छ । शर्माले भने, “पहिलो वर्षका लागि तोकिने जग्गाको भाडा रकममा विपन्न किसानको हकमा ८० प्रतिशतसम्म अनुदानको व्यवस्था छ, विपन्नबाहेक अन्यको हकमा तोकिने भाडा रकमको ५० प्रतिशत भाडा रकम अनुदान दिने व्यवस्था छ ।”

जग्गा भाडामा लिएर व्यवसायिक खेती गर्नेले पहिलो वर्ष पाउने अनुदान रकम दोस्रो वर्षदेखि क्रमशःघट्दै जाने बताइएको छ । समुदाय, कृषि सहकारी, व्यक्ति, फर्म, उद्यमीले यो कार्यक्रममा सहभागी हुन पाउने बताइएको छ । सरकारी र सार्वजनिक जग्गामा व्यावसायिक खेती गराउन भाडामा दिइने जग्गाको अनुदान कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिए पनि प्रदेशमा यस्तो जग्गा कति छ भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन ।

jutta mela

प्रदेशमा यसवर्ष वसन्ते मकैखेतीको क्षेत्र विस्तार गर्न लागिएको छ । दाना उद्योगका लागि आवश्यक पर्ने मकैलगायतका कच्चापदार्थ भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकामा दानाको आयात घटाउँदै कृषकको आम्दानी वृद्धि गर्न अभियानकै रुपमा बसन्ते मकैखेती गर्न लागिएको हो ।

कृषि ज्ञान केन्द्रमार्फत कार्यान्वयन भइरहेको वसन्ते मकैखेती कार्यक्रममा किसानलाई बीउमा अनुदान र सिँचाइ तथा अन्य प्राविधिक सहयोग उपलब्ध गराउने गरिएको छ । “दाना उद्योगलाई चाहिने कच्चापदार्थ स्थानीय क्षेत्रबाट नै प्राप्त होस् भन्ने उद्देश्यले यो खेती विस्तार गर्न लागिएको हो”, कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले भने, “यसबाट किसानको आयआर्जन वृद्धि हुने र विदेशबाट आयात गरिने दानाको परिमाण घट्दै जाने अपेक्षा छ ।”

सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा गरी झण्डै ४५ हजार एक सय ९५ हेक्टर जग्गामा वर्खेयामको मकै र वसन्ते मकैखेती गर्ने गरिएको तथ्याङ्क कृषि निर्देशनालयसँग छ । यसको उत्पादकत्व दुई दशमलब सात टन प्रतिहेक्टर रहेको छ । यसबाट वार्षिक एक लाख २२ हजार चार सय ३८ मेट्रिकटन मकै उत्पादन हुने गरे पनि उत्पादित मकै दाना उद्योगका लागि पर्याप्त नभएको बताइएको छ ।

वर्खे मकै खेती गरिएको क्षेत्रफलमध्ये झण्डै १५ प्रतिशतमा वसन्ते मकै खेती भइरहेको छ । यस वर्ष दोब्वर क्षेत्रफलमा बसन्ते मकै खेती विस्तार हुन लागेको छ । पहाडी जिल्लामा मकैलाई र तराईमा धानलाई मुख्य खाद्यान्न बाली मानिन्छ । भइरहेको मकैखेतीलाई निरन्तरता दिई थप जग्गामा वसन्ते मकैखेती विस्तार गर्न लागिएको हो । हाईब्रिड जातको वसन्ते मकैखेती गर्दा उत्पादकत्व प्रतिहेक्टरमा चार टनभन्दा बढी लिन सकिने देखिएको कृषि प्राविधिकको भनाइ छ ।

सुदूरपश्चिममा सञ्चालित दाना उद्योगले देशका अन्य प्रदेशका साथै भारतबाट दाना आयात गर्नुपर्ने अवस्था छ । स्थानीय क्षेत्रमै दाना पाउने वातावरण निर्माण गर्न सकिएमा उद्योग फस्टाउन मद्दत पुग्ने दाना उद्योगका सञ्चालकले बताएका छन् । रासस

You might also like

Comments are closed.