पोखरा । केसी ग्रुपका निर्देशक बन्दना कार्की केसीले पछिल्लो समय नेपालमा क्रिकेट खेलको लोकप्रियता निकै माथि पुगेको बताएकी छन् । क्रिकेटमा नेपालले ठूलै सम्भावना देखाएको उनले औंल्याइन् ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा जारी गण्डकी प्रदेश पिएम कप महिला टि २० क्रिकेट छनौट प्रतियोगिता अन्तर्गत बिहीबारको प्रतियोगितामा विशेष अतिथिका रुपमा पुगेकी कार्कीले नेपालले विश्वकप खेल्न सक्ने खेल क्रिकेट भएको जनाइन् । राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने लक्ष्यका साथ यो क्षेत्रमा लागेका खेलाडीलाई शुभकामना व्यक्त गर्दै लक्ष्य सम्म पुग्न धैर्यता र निरन्तरता आवस्यक पर्ने बताइन् ।
माछापुच्छ्रे बैक लिमिटेडका सञ्चालक समेत रहेकी कार्कीले नेपालले क्रिकेटमा सफलता पाउनुको पछाडि खेलाडीहरूको अथक मेहनत र लगनशीलता रहेको उल्लेख गरिन् । अब सरकारले पनि यो क्षेत्रको विकासका लागि भौतिक पुर्वाधारमा ध्यान दिन आवश्यक रहेको कार्कीको भनाई थियो ।
नेपालले क्रिकेटका मार्फतबाट खेल पर्यटनको विकास गर्न सक्ने प्रचुर सम्भावना रहँदा रहँदै पोखरा जस्तो पर्यटकीय सहरमा सुविधा सम्पन्न प्यारापिट सहितको मैदान बन्न नसक्नु दुःखद पक्ष रहेको बताइन् । पोखरा उद्योग बाणिज्य संघका सदस्य समेत रहेकी कार्कीले अब सरोकारवाला पक्षले यसतर्फ गंभिर भएर लाग्न सुझाव दिइन् । सो अवसरमा उनले खेलमा उत्कृष्टता हाँसिल गरेका खेलाडीलाई पदकले सम्मान गरिन् ।








Comments are closed.