भिडोल लुब्रिकेन्ट अब नेपालमै उत्पादन हुने, भिडोल इन्टरनेसनलसँग सम्झौता

काठमाडौं । भिडोल लुब्रिकेन्टलाई नेपाली बजारमै उत्पादन हुने भएको छ । भिडोल लुब्रिकेन्टलाई नेपालमा युनाइटेड लुब्रिकेन्टले उत्पादन गर्ने भएको हो । नेपाली बजारमा उपलब्ध भिडोललाई अब भीजी ल्युबले नेपालमा बिक्री–वितरण नगर्ने भएको छ । भारतमा टाइड वाटर आयल कम्पनी (इन्डिया) ले उत्पादन गर्ने भिडोल लुब्रिकेन्ट नेपाली बजारमा हालसम्म उपलब्ध भएकोमा अब नेपालमै उत्पादन हुने भएको हो ।

भिडोल इन्टरनेसनल, युकेसँग यसका लागि सम्झौता सम्पन्न भइसकेको र छिट्टै नै नेपाली बजारमा उपलब्ध हुने युनाइटेड लुब्रिकेन्टका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्रले जानकारी दिए । ‘भिडोल इन्टरनेसनलसँग यसका लागि टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट भइसकेको र यसको ट्रेडमार्क प्रयोग गरेर भिडोल लुब्रिकेन्ट नेपालमै उत्पादन गरिने छ,’ उनले भने । अटोमोबाइल पार्ट्सको व्यवसाय गर्दै आएको अग्रणी कम्पनी सत्यदीप ग्रुपको अगुवाईमा युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजको स्थापना भएको हो ।

युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले धनुषाको ढल्केवर–३ लालभित्ती चोकमा ल्युब आयल ब्लेन्डिङ प्लान्ट सञ्चालन गरेको छ । बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन भन्दा नेपालमा उत्पादन हुने नयाँ लुब्रिकेन्टको गुणस्तरमा कमी नहुने मिश्रको दावी छ । ‘अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुनेछ । लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय हुनेछन्,’ मिश्रले भने ।

jutta mela

नेपालमै भिडोल उत्पादन भयो भने यो नेपालमै उत्पादन हुने गल्फ पछिको दोस्रो बहुराष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हुनेछ । यो भन्दा पहिले चौधरी ग्रुप अन्तर्गतको नेपाल ल्युब आयलले पनि नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ ।

भिडोल लुब्रिकेन्ट नेपाली बजारमा सन् २०१२ देखि नै उपलब्ध छ । भिडोल लुब्रिकेन्ट मोटरसाइकल, कार, मिनीभ्यान, एसयूभी र कमर्सियल तथा अन्य विभिन्न सवारी साधनमा प्रयोग भइरहेको छ ।

You might also like

Comments are closed.