बेगनासमा ड्रागन बोट रेस सम्पन्न, पर्यटन प्रवर्द्धन मुख्य उद्देश्य

लेखनाथ । सात तालको बाटिका शहर लेखनाथमा ड्रागन बोट रेस प्रतियोगिता सम्पन्न भएको छ । फागु पूर्णिमाको अवसरमा चैत ११ र १२ गते प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १४ वटा टिमको सहभागिता थियो । जस अन्तर्गत ३ जना महिला र ११ जना पुरुष टिम सहभागी भयो ।

पोखरा महागरपालिका र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना एवं होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथ र नेपाल ड्रागन बोट गण्डकी प्रदेशको सहआयोजनामा प्रतियोगिता भएको हो ।

प्रतियोगिताको उद्घाटन नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य मदन आचार्यको अध्यक्षतामा तथा युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो भने समापन कार्यक्रम पोखरा महानगरपालिकाका प्रवक्ता मोतिराज तिमिल्सनाको अध्यक्षतामा भएको हो । समापन कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य मदन आचार्य, चाइनाका डिपुटी चिफ अफ मिसन पोलिटिकल काउन्सिल वाङ जिङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बिनोद श्रेष्ठ, नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त कार्यालय प्रमुख नविन पोखरेल लगायतले बोलेका थिए ।

jutta mela

छोटो समयको तयारीमा कार्यक्रम सफल भएको र पर्यटन प्रवर्द्धनमा प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याएको उनीहरुले बताए । आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने उनीहरुको भनाइ छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै बेगनास लगायत आसपासका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा जोड दिनुपर्ने उनीहरुकोे भनाइ छ । कार्यक्रममा चिनीया राजदूताबासको समेत सहयोग रहेको थियो ।

राष्ट्रिय स्तरको प्रतियोगता पनि बेगनास तालमा गर्ने तयारी आयोजकको रहेको बताइएको छ ।

५ सय मिटर र २ सय मिटरमा ड्रागन बोट प्रतियोगिता भएको थियो । पुरुषतर्फ २ सय मिटरमा नारा पोखरा प्रथम, वाटर स्पोर्टस नेपाल द्वितीय, अर्पन फेवा मत्स्य सहकारी तृतीय र खास्टे न्युरेनी सान्त्वना भएको छ । पुरुष तर्फ ५ सय मिटरमा वाटर स्पोर्टस नेपाल प्रथम, नारा पोखरा द्वितीय र नेपाल आर्मी तृतीय र बेगनास ताल डुंगा व्यवसाय समिति टिम ए सान्त्वना भएको छ ।

महिला तर्फ २ सय मिटरमा बेगनास ताल मत्स्य व्यवसाय समिति प्रथम, बेगनास ताल डुंगा व्यवसाय समिति द्वितीय र जलारी दिदी बहिनी समूह तृतीय भएका छन् । महिला तर्फ ५ सय मिटरमा बेगनास ताल डुंगा व्यवसाय समिति प्रथम, बेगनास ताल मत्स्य व्यवसाय समिति द्वितीय र जलारी दिदी बहिनी समूह तृतीय भएको होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथका कार्यसमिति सदस्य अर्जुन भण्डारीले जानकारी दिए ।

प्रतियोगिताले पर्यटन राजधानी पोखराको पर्यटन प्रवर्द्धन तथा वाटर स्पोर्टस विकासमा उल्लेख्य सहयोग पुग्ने विश्वास गरिएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिनाले महानगरको नीति तथा कार्यक्रम मै समावेश गरी व्यवस्थित रूपमा वाटर स्पोर्टस सञ्चालनका लागि प्रक्रिया अघि बढाएको बताए ।

पोखरामा रहेका आकर्षक तालहरूको संरक्षण तथा सौन्दर्यीकरणका लागि पोखरा महानगरपालिका योजनाबद्ध ढङ्गले लागिरहेको बताउँदै उनले खास्टे र न्युरेनी तालको विकास तथा संरक्षणका लागि डिपिआर समेत भएर प्रक्रियामा अघि बढेको बताए ।

You might also like

Comments are closed.