गण्डकी प्रदेशमा श्रमाधान रोजगार मेला आज र भोलि, श्रममन्त्री अर्यालले उद्घाटन गर्ने

पोखरा । गण्डकी प्रदेशमा आजबाट श्रमाधान रोजगार मेला हुँदैछ । पोखराको इभेन्ट सेन्टरमा हुन लागेको मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र सह–आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु छन् ।

श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल तथा गण्डकी प्रदेशका मुख्यमन्त्री शुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्वन्धमा डाटाबेश निर्माणमा योगदान गर्ने उनको भनाइ छ । मेलामा रोजगारदाताहरुको सूचीकरण र रोजगारीका अबसरको पहिचान गरिने बताए ।

मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरु राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, बैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका कम्तिमा ३५ वटा स्टल तथा बुथहरु हुनेछन् ।

 

मेलामा श्रमाधानका बहुआयामीक पक्षबारे सम्वाद समेत हुनेछ । सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानून र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकता सम्बन्धि अन्तरक्रिया हुनेछ । त्यस्तै स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम समेत हुनेछन् ।

lcci
You might also like

Comments are closed.