सत्ता समीकरण फेरिएर ओली प्रधानमन्त्री बन्दा गृह र अर्थमन्त्रीमा कसको सम्भावना बढी ?

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गरेपछि सत्ता समीकरण फेरिने भएको छ । काँग्रेस एमाले सहमति अनुसार पहिलो चरणमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नेछन् भने दोस्रो चरण अर्थात चुनावी सरकारको नेतृत्व शेरबहादुर देउवाले गर्नेछन् ।

सहमति अनुसार एमालेले अर्थसहित ९ मन्त्रालय लिनेछ भने काँग्रेसले गृहसहित १० मन्त्रालय लिनेछ । काँग्रेस एमाले मिल्दा झण्डै २ तिहाइ नजिक संसद संख्या पुग्छ । संविधान संशोधनका लागि साना केही दलको समेत साथ लिने काँग्रेस एमालेको तयारी छ । त्यसका लागि केही मन्त्रालय छुट्याएको छ ।

प्रदेश सरकारमा ३ वटा एमाले र ३ वटा काँग्रेसले लिनेछन् भने मधेश प्रदेश मधेशी दललाई नै दिने उनीहरुको तयारी छ ।

सत्ता समीकरण फेरिने निश्चित भएसँगै अर्थ र गृहमन्त्रीमा काँग्रेस एमाले धेरै नेताहरुको चासो देखिएपछि एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेलको र काँग्रेसबाट गृहमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीको सम्भावना बढी रहेको बताइएको छ ।

के छ काँग्रेस एमालेबीच मध्यरातमा भएको सहमति ?

काँग्रेस र एमालेबीच सोमबार मध्य रातमा सत्ता समीकरणको सहमति भएको हो । सहमतिमा भागबण्डा पनि टुङग्याइएको छ । जस अन्तर्गत कोशी, लुम्बिनी, कर्णाली प्रदेश एमालेले लिदा बाग्मती, गण्डकी र सुदुरपश्चिम सरकारको नेतृत्व काँग्रेसले गर्नेछ । मधेश सरकारको नेतृत्व मधेशी दललाई दिने तयारी छ ।

निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको छ । साना दलको साथ लिँदा दुई तिहाइसहित संविधान संशोधन सहज हुनेछ । पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बन्ने बताइएको छ ।

You might also like

Comments are closed.